लगातार सातौं सिजन बुन्डेसलिगाको उपाधि बार्यन म्युनिखको पोल्टामा !

काठमाडौं, जेठ ४
साबिक विजेता बार्यन म्युनिखले जारी सिजनको बुन्डेसलिगाको उपाधि जितेको छ । आज भएको लिगको अन्तिम खेलमा फ्रान्कफुर्टमाथि ५–१ को फराकिलो जित निकाल्दै बार्यनले लगातार सातौं सिजन तथा समग्रमा २९औं लिग उपाधि जितेको हो ।

शनिबार आफ्नो घरेलु मैदानमा भएको खेलमा बार्यनले पाहुना टोलीमाथि ५–१ को जित निकाल्दै दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई २ अंकले पछि पारेर उपाधि जितेको हो ।

आफ्नो घरमा बार्यनलाई जिताउन ५ जना फरक–फरक खेलाडीले गोल गरे । बार्यनका लागि खेलको चौथो मिनेटमै किङ्स्ली कोमानले पहिलो गोल गरेका थिए । त्यसपछि दुवै पक्षबाट गरी बाँकी ५ वटै गोल सबै दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफको सुरमै फ्रान्कफुर्टले गोल गरेर खेल १–१ बनायो । उसका लागि सेबास्टिएन हलरले ५०औं मिनेटमा गोल गरेका थिए । तर, त्यसपछि उसले गोल पोस्ट जोगाउन नसक्दा बार्यनले गोलको वर्षा नै गरिदियो ।

खेलको ५३औं मिनेटमा बार्यनका लागि डेभिड अल्बाले दोस्रो गोल गर्दा ५८औं मिनेटमा रेनाटो सान्चेजले तेस्रो गोल गरे ।

त्यसपछि खेलको ७२औं मिनेटमा फ्रान्क रिबेरीले गोल गरेर अग्रता ४–१ बनाए । त्यसपछि खेलको ७८औं मिनेटमा अर्जेन रोबेनले गोल गर्दै गर्दै खेललाई ५–१ बनाए । त्यसपछि थप गोल भएन । र, खेल बार्यनले ५–१ ले जित्यो ।

यो जितपछि बार्यनले यो सिजन ३४ खेलबाट कूल ७८ अंक बनायो । दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले ७६ अंक बनायो ।

आजको खेल बार्यनका रिबेरी र रोबेनका लागि अन्तिम खेल थियो । यी दुवै लिजेन्ड खेलाडीले यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने घोषणा यसअघि नै गरिसकेका थिए ।

प्रकाशित मिति May 18, 2019
Loading...