हालकै अवस्थामा बार्सिलोनाले च्याम्पियन्स लिग जित्न असम्भव : जाभी

एजेन्सी, वैशाख ४
स्पेनिस बार्सिलोनाका पूर्वकप्तान जाभीले हालकै अवस्थामा बार्सिलोनाले फेरि युरोपियन च्याम्पियन्स लिग जित्न नसक्ने बताएका छन् । केही समयअघि मात्रै फुटबल करिअरबाट सन्यास घोषणा गरेका स्पेनिस खेलाडीले अब बार्सिलोनाले च्याम्पियन्स लिग जित्न धेरै कुरा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

३९ वर्षीय जाभी हाल कतारी क्लब अल सदाबाट खेलिरहेका छन् । र, उनले यो सिजन आफ्नो करिअरको अन्तिम सिजन हुने घोषणा गरिसकेका छन् । जाभी अर्को सिजनबाटै कुनै न कुनै क्लबबाट प्रशिक्षकका रूपमा देखिने चर्चा छ ।

‘टिभी थ्री’सँग कुरा गर्दै जाभीले बार्सिलोनाले पछिल्ला चार सिजन च्याम्पियन्स लिगमा भोगेको हारको समीक्षा गर्दै अब उनीहरूले फेरि यो प्रतियोगिता जित्न खेलमा पूर्णतः हाबी हुनुपर्ने बताएका छन् ।

‘मेरो विचारमा बार्सिलोनाले फेरि एकपटक खेलमा नियन्त्रण जमाउन सक्नुपर्छ । अन्यथा, फेरि च्याम्पियन्स लिग जित्न असम्भव छ,’ जाभीले भने ।

उनले अघि थपे, ‘इतिहासले के भन्छ भने, जतिबेला बार्सिलोनाले पहिलोपटक च्याम्पियन्स लिग जित्यो, त्यत्तिबेला बार्सिलोना ला लिगामा पूर्णतः हाबी थियो । त्यत्ति मात्रै हैन, त्यसबेला बार्सिलोना सबै प्रतियोगितामा हाबी थियो ।’

जाभीले यो बताएका छन् कि, बार्सिलोना अहिले आफ्नो ‘ओरिजिनल भर्सन’मा छैन । र, ऊ आफ्नो स्तरअनुसार खेलमा हाबी हुन सकेको छैन । ‘मेरो विचारमा अहिले बार्सिलोनाले खेलमा नियन्त्रण नै राख्न सकेको छैन,’ जाभीले भने ।

अर्को प्रसंगमा जाभीले आफू तत्कालै बार्सिलोनाको हेड कोच बन्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘अहिले नै म आफूलाई बार्सिलोनाको प्रशिक्षकका रूपमा देख्न चाहन्नँ । मेरो मेरो कोचिङ जागिर बार्सिलोनाबाट सुरु गर्न चाहँदिनँ । किनभने, यो सामान्य हुँदैन,’ जाभीले भने ।

तर, जाभीले कुनै न कुनै दिन आफू बार्सिलोनाको प्रशिक्षक बन्ने बताए । ‘तर, म कुनै न कुनै दिन बार्सिलानाको टोली सम्हाल्न पुग्नेछु,’ जाभीले थपे ।

जाभीले जारी सिजन बार्सिलोनाले खराब प्रदर्शन गरेकै कारण च्यामिपयन्स लिगमा पराजय भोगेको बताए । ‘लिभरपुलविरुद्ध दोस्रो लेगमा बार्सिलोनाका सबै खेलाडीको प्रदर्शन बिर्सनलायक थियो । त्यो खेल म सम्झिन चाहन्नँ,’ उनले भने, ‘लिभरपुल त्यो शानदार जितको हकदार थियो ।’

प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार १५:००
Loading...