ग्रीजम्यानको अन्तिम खेलमा एथ्लेटिको मड्रिडको कठिन बराबरी

काठमाडौं, जेठ ४
स्टार फरवार्ड एन्टोनी ग्रीजम्यान कप्तान डिएगो गोडिनको अन्तिम खेलमा स्पेनिस एथ्लेटिको मड्रिड हारबाट मुस्किलले बचेको छ । शनिबार भएको सिजनको अन्तिम खेलमा एथ्लेटिको अवे मैदानमा लेभान्टेसँग २–२ को बराबरी खेल्दै सिजन बिट मार्न बाध्य भयो ।

लेभान्टेको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि २ जना खेलाडीको अन्तिम खेल थियो । तर, खेलको ५१औं मिनेटमा १० खेलाडीमा सीमित भएको एथ्लेटिकोले जितका साथ आफ्ना खेलाडीको बिदाइ गर्न सकेन । यो सिजनको अन्त्यसँगै एथ्लेटिकोबाट ग्रीजम्यान र गोडिनले क्लब छाड्दैछन् ।

लेभान्टेको घरमा भएको खेलमा घरेलु टोलीले ३६औं मिनेटसम्म २–० को अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । र, दोस्रो हाफमा पाहुना टोली खेलमा फर्कियो । लेभान्टेका लागि खेलको छैटौं मिनेटमा इरिक काबाओ र ३६औं मिनेटमा रोजर मार्टीले गोल गरेका थिए ।

दोस्रो हाफको ५१औं मिनेटमा एथ्लेटिकोका एन्जल कोरेरा विपक्षी खेलाडीमाथि गम्भीर फउल गरेपछि सोझै रातो कार्ड खाएर मैदान छाडे । उनलाई भिएआरबाट रातो कार्ड देखाइएको थियो ।

त्यसपछि खेलको ६८औं मिनेटमा रोद्रीले आकर्षक गोल गर्दै खेल २–१ बनाए । त्यसपछि सिनियर टिमबाट सिजनको अन्तिम खेलबाट डेब्यु गरेका १८ वर्षीय सर्जियो क्यामेलो पेरेजले गोल गरेर खेल २–२ बनाए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन । र, खेल २–२ मा टुंगियो । यो बराबरीपछि एथ्लेटिकोले ३८ खेलबाट ७६ अंक बनाएको छ । ऊ लिगको दोस्रो स्थानमा छ । यता, लेभान्टे ४४ अंकसहित लिगको १४औं स्थानमा छ ।

प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार १३:१३
Loading...