नेपाली मूलका किशोरलाई इङ्लिस प्रिमियर लिग क्लबले भित्र्यायो !

एजेन्सी, जेठ ४
बेलायत बस्दै आएका नेपाली मूलका एक किशोरलाई इङ्लिस प्रिमियर लिग खेल्ने क्लबले अनुबन्ध गरेको छ । साउथ इस्ट लन्डनको प्लमस्टिडमा बस्ने १५ वर्षका किशोर जय प्रधानलाई वाटफोर्ड फुटबल क्लबको यु–१६ टोलीमा अनुबन्ध गरिएको हो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार बिहीबार मात्रै लन्डनको वाटफोर्डस्थित क्लबको ट्रेनिङ सेन्टरमा क्लबले जयसँग दोहोरो सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार जयले सन् २०१९/२० सिजनमा वाटफोर्डको यु–१६ टोलीबाट खेल्नुपर्ने छ ।

प्रिमियर लिग त्यहाँको पहिलो डिभजिनको क्लब हो । ऊ जारी सिजन सकिँदा प्रिमियर लिगको ११औं स्थानमा रहेको थियो । वाटफोर्डले आज राति नकआउट प्रतियोगिता एफए कपमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग उपाधि भिडन्त गर्दैछ ।

नेपाली मूलका किशोरलाई अनुबन्ध गर्नुअघि वाटफोर्डले विभिन्न चरणमा जयको ट्रायल लिएको थियो । यससँगै जयले आगामी सिजनमा वाटफोर्डको यु–१६ टिमबाट डेब्यु गर्नेछन् ।

इंग्लिस प्रिमियर लिग खेल्न पाउने जय दोस्रो नेपाली मूलका खेलाडी बनेका छन् । यता, जयभन्दा अघि विभेश गुरुङले प्रिमियर लिगकै अर्को क्लब क्रिस्टल प्यालेसबाट खेलेका थिए । आफ्ना छोरा प्रिमियर लिग क्लबमा अनुबन्ध भएपछि जयका पिता प्रसिद्ध प्रधानले खुसी व्यक्त गरेका छन् । उनले आफ्नो छारो क्लबको सिनियर टिमसँग पुग्ने दाबी गरेका छन् ।

जयले यसअघि टोटनह्याम र वेस्ट ह्यामबाट पनि ट्रायल दिएका थिए । तर, उनी त्यसबेला पास भएनन् ।

यसअघि जयले जुनियर रेड्सबाट नन लिग तहको प्रतियोगिता खेलिसकेका छन् । जयका पिता लन्डनमा अध्यापन पेसामा संलग्न छन् ।

प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार १०:२५
Loading...