एजेन्सी, जेठ ४
स्पेनिस बार्सिलोनाले लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिड छाड्ने घोषणा गरेका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान भित्र्याउने तयारी गरेको छ । अहिले सरुवा बजारमा ग्रीजम्यानको बार्सिलोना सरुवा चर्चा ‘हट केक’ नै बनेको छ ।
कतिपय मिडिया रिपोर्टले बार्सिलोना ग्रीजम्यान अनुबन्धको धेरै नजिक पुगिसकेको रिपोर्ट सार्वजनिक गरे पनि ग्रीजम्यान कता जाँदैछन् भनेर अहिलेसम्म स्पष्ट दिशा देखिएको छैन । ४ दिनअघि उनले ‘नयाँ कुरा र नयाँ चुनौतीका लागि’ भन्दै एथ्लेटिको छाड्ने घोषणा गरेका थिए ।
एथलेटिकोमा पाँचौं सिजन बिताइरहेका ग्रीजम्यानलाई बार्सिलोनाले गत जनवरीबाटै नजर लगाएको थियो । तर, यसपटक भने ऊ खुलेरै २८ वर्षीय विश्वकपविजेता खेलाडी भित्र्याउन लागेको छ ।
तर, स्पेनिस पत्रिका ‘डायरियो स्पोर्ट’ले भने ग्रीजम्यान बार्सिलाना जाने चर्चा चुलीमा पुग्दा बार्सिलोनाको ड्रेसिङ रुम उनको पक्षमा नरहेको रिपोर्ट छापेको छ । उसले अघिल्लो दिनको आफ्नो संस्करणमा यही विषयलाई कभर न्यूज बनाएको छ ।
सो रिपोर्टअनुसार बार्सिलोनाको ड्रेसिङ रुमका अधिकांश खेलाडी ग्रीजम्यान अनुबन्धको पक्षमा छैनन् । यतिसम्म कि, कप्तान लिओनल मेस्सीसमेत ग्रीजम्यान भित्र्याउने पक्षमा छैनन् ।
यसअघि पनि मेस्सीलगायत लुइस स्वारेज बार्सिलोनामा ग्रीजम्यानको आगमनको पक्षमा नरहेको रिपोर्ट आएको थियो । अहिले बार्सिलोनाका प्रमुख खेलाडीसहित धेरैजसो खेलाडी ग्रीजम्यानको पक्षमा नदेखिएका हुन् ।
‘डायरिपो स्पोर्ट’ ले कभरमा ‘बार्सिलोनाको ड्रेसिङ रुम भन्छ– नो ग्रीजम्यान’ शीर्षकमा समाचार छापेको छ । सो रिपोर्टमा यदि बार्सिलोनाले ग्रीजम्यान अनुबन्ध गरे ड्रेसिङ रुममा समस्या आउन सक्ने पनि उल्लेख गरेको छ ।
रिपोर्टअनुसार मेस्सी बार्सिलोनाका लागि २८ वर्षीय ग्रीजम्यान उत्तम विकल्प नहुने ठान्छन् । र, उनी युवा खेलाडी भित्र्याउनुपर्ने पक्षमा छन् । ग्रीजम्यानसँग बार्सिलोनामा फिट हुने आवश्यक कुरा नरहेको मेस्सी ठान्छन् ।
यसअघि स्पेनकै मिडियाले ग्रीजम्यान र बार्सिलोनाबीच तलब–सुविधा र टोलीमा स्थान के हुने भन्ने कुराको टुंगो नलाग्दा सम्झौता फाइनल हुन नसकेको भन्ने समाचार आएका थिए ।
यो बताइन्छ कि, बार्सिलोनामा ग्रीजम्यानले मेस्सीपछि दोस्रो मुख्य भूमिका चाहेका छन् । र, उनले तलब सुविधा प्रतिसिजन २५–३० मिलियन युरो चाहेका छन् ।
यता, बार्सिलोनाका फ्यानहरूको ठूलो हिस्सा ग्रीम्यानको पक्षमा देखिँदैन । यो कुरा कप्तान मेस्सी र अन्य खेलाडीले बुझेकाले पनि उनीहरू ग्रीजम्यानलाई हाँसीखुसी स्वागत गर्न तयार देखिँदैनन् ।
प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार ०६:४५