जब मेस्सीले स्वारेज र उनको परिवारलाई निजी विमानमा ‘लिफ्ट’ दिए ……

एजेन्सी, पुस ९
वर्ष २०१८ का लागि केहीबाहेक अधिकांश लिगका खेल सकिएका छन् । यस वर्षका खेल सकिएपछि खेलाडीहरू धमाधम क्रिसमस बिदामा जानेक्रम जारी छ । कोही आफ्नो देश फर्किइरहेका छन् भने कोही परिवार भएको ठाउँमा जानेक्रम जारी छ ।

यसैक्रममा स्पेनिस बार्सिलोनाका खेलाडी पनि यतिबेला बिदामा छन् । टोलीका अधिकांश खेलाडी अहिले क्रिसमस बिदामा छन् । उनीहरू अब नयाँ वर्षपछि मात्रै क्लमा फर्किनेछन् ।

बार्सिलोनाका कप्तान लिओनल मेस्सी त सबैभन्दा चाँडो बिदामा गए । उनी पछिल्लोपटक ला लिगामा सेल्टा भिगोविरुद्धको खेल सकिएकै दिन स्पेन छाडेर अर्जेन्टिना लागे ।

मेस्सीले केही समयअघि मात्रै किनेको नयाँ विमानबाट उनी र परिवार अर्जेन्टिना लाग्यो । उनले सोही विमानमा आफ्ना टिममेट तथा व्यक्तिगत रूपमा विशेष सम्बन्ध रहेका लुइस स्वारेज र उनको परिवारलाई पनि लिफ्ट दिएका थिए ।

मेस्सीले स्वारेज र उनको परिवारलाई उरुग्वेसम्म लिफ्ट दिएका हुन् । सोही विमानमा सवार स्वारेज र उनको परिवारलाई उरुग्वेमा छाडेर मेस्सीको परिवार अर्जेन्टिना लागेको थियो ।

अब बार्सिलोनाले आगामी खेल ला लिगामा २०१९ को जनवरी ६ तारिखमा गेटाफेविरुद्ध उसकै घरमा खेल्दैछ । बार्सिलोना अहिले ला लिगाको शीर्ष स्थानमा छ भने ऊ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।

त्यसैगरी, बार्सिलोनाका अर्का खेलाडी उसामान डेम्बेले पनि फ्रान्स लागेका छन् । उनी पनि क्रिसमस मनाउन निजी जेटबाटै फ्रान्स उडेका हुन् । मेस्सी र डेम्बेलेको विमानले बार्सिलोनाको एयरपोर्टबाटै उडान भरेको थियो ।

प्रकाशित मिति ९ पुष २०७५, सोमबार १४:५७
Loading...