एमबाप्पे चम्किँदा पिएसजीले बार्यन म्युनिखलाई उसकै घरमा हरायो

काठामाडौं, चैत २६

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा फ्रेन्च क्लब पिएसजीले स्पष्ट जित निकालेको छ । गत राति भएको पहिलो लेगको खेलमा पिएसजीले बार्यनको घरेलु मैदानमा २–३ को जित निकालेको हो । अवे मैदानमा पिएसजीलाई जिताउन फ्रेन्च स्टार केलियन एमबाप्पे नायक बने । उनले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरेर टिमलाई योगदान गरे ।

पिएसजीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेर अग्रता लिएको थियो । नेइमारको पासमा एमबाप्पेले निकै सुन्दर फिनिसिङमा बललाई जाली चुमाएका थिए । त्यसपछि खेलको २८औं मिनेटमा पिएसजीले दोस्रो गोल हान्यो । यसपटक मार्किन्हसले नेइमारकै पासमा गोल निकाल्न सफल भए । टिमका सुरुआती २ वटै गोलमा नेइमारले असिस्ट गरेका थिए ।

खेलको ३७औं मिनेटमा घरेलु टोली बार्यनले गोल फर्कायो । बेन्जामिन पाभार्डको पासमा इरिक–म्याक्सिमले गोल गरेपछि पहिलो हाफमा १–२ मा सकियो । त्यसपछि खेलको ६०औं मिनेटमा बार्यनले अर्को गोल गर्दै खेल २–२ को बराबरी बनायो । यसपटक जोसुवा किमिचको पासमा थोमस मुलरले गोल गर्दै खल २–२ बनाएर टिमलाई खेलमा फर्काएका थिए ।

तर, पिएसजीले चाँडै तेस्रो गोल हान्यो । खेलको ६८औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गाल गरेर पुनः टिमलाई अग्रता दिलाए । यसपटक एन्जल डि मारियाको पासमा एमबाप्पेले गोल गर्न सफल भए । सो गोलपछि खेलभरि नै दुवै तर्फबाट थप गोल नभएपछि खेल पिएसजीजे २–३ ले जित्यो । अवे मैदानमा ३ गोलसहितको जितले पिएजीलाई अर्को चरण प्रवेशका लागि सहज बनाएको छ ।

गत वर्ष यी नै दुई टोली फाइनलमा भिडेका थिए, जहाँ बार्यनले पिएसजीलाई १–० ले हराएर उपाधि जितेको थियो । यसपटक पिएसजीलाई गत वर्ष फाइनलमा भोगेको हारको बदला बार्यनसँग लिने अवसर छ । त्यसका लागि उसले बार्यनलाई अब दोस्रो लेगमा पनि रोक्दै आउट गराउनुपर्छ । दोस्रो लेगको खेल अर्को साता हुनेछ ।

प्रकाशित मिति २६ चैत्र २०७७, बिहीबार ००:४१
Loading...