सिरी ए : आज इन्टर मिलान र सासुओलो भिड्दै

काठमाडौं, चैत २५

इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज राति दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुनेमध्ये एक खेलमा युभेन्टस र नापोलीको रोमाञ्चक भिडन्त हुँदैछ । त्यसैगरी, आजै अर्को खेलमा लिग लिडर इन्टर मिलान र नवौं स्थानको सासुओलोको भिडन्त पनि हुँदैछ । आजको खेल इन्टरका लागि महत्त्वपूर्ण हुनेछ । ऊ हाल लिगको शीर्ष स्थानमा सुविधाजनक अग्रतासहित बसेको छ । तर, आज उसलाई सासुओलाले कडा टक्कर दिने पक्का छ ।

हाल शीर्ष स्थानमा स्पष्ट ८ अंकको अग्रता बनाएको इन्टरलाई अग्रता थप बढाउन आजको खेल महत्त्वपूर्ण छ । अहिले २८ खेलपछि ६८ अंकसहित इन्टर शीर्ष स्थानमा छन भने एक खेल बढी खेलेको एसी मिलान ६० अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अवस्थामा पनि इन्टर अहिले एसी मिलानभन्दा ८ अंकले अघि छ । आजको खेल जिते समान खेलपछि इन्टरले एसी मिलानलाई ठीक ११ अंकले पछि पार्नेछ ।

तसर्थ चाँडो गरी उपाधि पोल्टामा पार्नका लागि आज इन्टर अर्को महत्त्वपूर्ण जित निकाल्न प्रयास गर्नेछ । तर, पराजित भएको खण्डमा दोस्रो स्थानको मिलानलाई अंक दूरी घटाउन सहयोग पुग्न सक्नेछ । सँगै साबिक च्याम्पियन युभेन्टसका लागि पनि झिनो आशा खुल्नेछ । आजै इन्टर र सासुओलो राति ठीक १०ः३० बजेबाट खेल्दा सोही समयमा युभेन्टस र नापोलीको अर्को रोमाञ्चक खेल पनि हुनेछ ।

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार १५:५६
Loading...