सिरी ए : आज युभेन्टस र नापोलीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, चैत २५

इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज राति दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुनेमध्ये एक खेलमा युभेन्टस र नापोलीको रोमाञ्चक भिडन्त हुँदैछ । यसअघि नै हुनुपर्ने यो खेल प्राविधिक कारणले स्थगित भएको थियो, जुन आज राति हुन लागेको हो । खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १०ः३० बजेबाट सुरु हुनेछ । आजको खेल लिगका हेभिवेट भिडन्तमध्येको एक हो ।

जारी सिजन उपाधि होडमा निकै खराब अवस्थामा रहेको युभेन्टसका लागि आजको खेल अंकका लागि भन्दा पनि प्रतिष्ठाका लागि ज्यादा मत्त्वपूर्ण हुनेछ । व्यवहारिक हिसाबमा युभेन्टसका लागि यो सिजन करिब–करिब सकिएको छ । बाँकी खेलमध्ये लिग लिडर इन्टर मिलान लगातार खराब नतिजाको सिकार नभए युभेनटसको उपाधि होड धेरै टाढा पुगेको छ । यद्यपि, युभेन्टस अझै पनि इन्टर मिलानको खराब समयको पर्खाइमा रहेकाले उसले आफ्ना बाँकी खेलमा संघर्ष गर्ने नै छ ।

हाल अंक तालिकामा युभेन्टस २८ खेपछि ५६ अंकका साथ चौथो स्थानमा रहेको छ । इन्टर मिलान २८ खेलपछि ६८ अंकका साथ शीर्ष स्थानमा रहँदा २९ खेल खेलेको एसी मिलान ६० अंकसहित दोस्रोमा रहँदा २९ खेलपछि ५८ अंक बनाएको एटलान्टा तेस्रो स्थानमा रहेको छ । साबिक च्याम्पियन युभेन्टस हाल लिग लिडर इन्टरभन्दा ठीक १२ अंकले पछि रहेको छ ।

यदि आज आफ्नो मैदानमा युभेन्टसले नापोलीमाथि स्पष्ट जित निकाल्न सके उसलाई चौथो स्थान सुरक्षित गर्न बल पुग्नेछ । यतिबेला युभेन्टसको पहिलो प्राथमिकता भनेको टप–४ हो, जुन अहिले कठिन अवस्थामा छ । उपाधि ताक्नुभन्दा पहिला युभेन्टसले टप–४ मा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुनु मुख्य विषय बनेको छ ।

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार १५:३०
Loading...