च्याम्पियन्स लिग क्वार्टरफाइनल : आज बार्यन म्युनिख र पिएसजीको महाभिडन्त हुँदै

काठमाडौं, चैत २५

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज दुई खेल हुँदैछन् । जसमा एक खेलमा युरोपका दुई हेभिवेट टोलीहरू जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पिएसजीको घमाशान भिडन्त पनि हुँदैछ । यी दुई टोली गत सिजनका फाइनल खेलेका टोली हुन् । यस खेललाई क्वार्टरफाइनल चरणको सबैभन्दा ठूलो भिडन्त मानिएको छ । यो सिजन दुवै टोली उपाधि होडमा रहेका छन् ।

आज हुने पहिलो लेगको खेल बार्यनको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । आजको यो खेलमा धेरैको गहिरो नजर रहेको छ । आज आफ्नो घरमा खेल्दा बार्यनको टोलीमा प्रमुख फरवार्ड रोवर्ट लेवान्डोस्की हुनेछैनन् । चोटका कारण उनले क्वार्टफाइनलमा दुवै लेगका खेल गुमाउने पक्का भएको छ आज बलियो टोली पिएसजीविरुद्ध उत्रिँदा बार्यनलाई लवान्डोस्कीको अभाव खड्किन सक्नेछ ।

यता, आज बार्यनको मैदानमा उत्रिन लागेको पिएसजीको टोली भने एकदमै ठीकठाक रहेको छ । पाहुना टोलीमा सबैजसो प्रमुख खेलाडी टोलीमा छन् । आज लेवान्डोस्कीबिनाको बार्यनविरुद्ध केलियन एमबाप्पे र नेइमारसहितका प्रमुख खेलाडी उपलब्ध छन् । आज पिएसजी बार्यनको घरमा शानदार जितका लागि आतुर देखिन्छ । ऊ आज लेवान्डोस्की नहुँदाको फाइदा सकेसम्म उठाउने दाउमा हुनेछ ।

लेवान्डोस्कीको अनुपस्थितिमा पनि बार्यन एक मजबुत टोली हो । आज उसले पिएसजीविरुद्ध थोमस मुलर, किङ्स्ले कोमान, लिरोए साने, सेर्गे गेनाब्रीसहतिका खेलाडीलाई प्रयोग गर्नेछ । यो टोली पिएसजीको पोस्टमा आक्रमण गर्न निकै धारिलो हो । गत वर्ष यी दुई टोली फाइनल खेल्दा बार्यनले १–० ले उपाधि जितेको थियो ।

यसपटक पिएसजी बार्यनसँग गत सिजन फाइनल भोगेको हारको बदला लिने दाउमा छ । त्यसका लागि उसले बार्यनलाई अन्तिम आठबाटै बिदा गर्नुपर्ने छ । अहिले पिएसजीको टोलीमा सबैजसो प्रमुख खेलाडी ठीकठाक रहेकाले पनि पिएसजीलाई यो टाईमा ज्यादा दाबेदार धेरैले मानेका छन् । आजको खेलमा ब्राजिलियन स्टार नेइमार र फ्रेन्च स्टार केलियन एमबाप्पे मुख्य अस्त्र हुनेछन् ।

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार १५:१८
Loading...