यस्तो रहेछ कोम्यानले मेम्फिस डिपेका लागि मरिहत्ते गर्नुको कारण

एजेन्सी, चैत २५

स्पेनिस फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक मेम्फिस डिपेले आफ्नो देशका खेलाडी मेम्फिस डिपेलाई भित्र्याउन हत्ते गर्नुको कारण खुलाएका छन् । फ्रेन्च क्लब लियोनबाट खेलिरहेका २७ वर्षका फरवार्ड डिपे बार्सिलोनालाई निक आवश्यक छ भन्ने प्रश्नको जवाफ कोम्यानले दिएका छन् । बार्सिलोनाले आज राति ला लिगामा आफ्नो घरेलु मैदानमा रियल भाल्लाडोलिडविरुद्ध खेल खेल्दै छ । सो खेलअघि मिडिया संवादक्रममा कोम्यानलाई पत्रकारले कोम्यानसँग डिपेका पछि हत्ते गरेर लाग्नुको कारण मागेका थिए ।

कोम्यान बार्सिलोनाको प्रमुख बन्नुअघि नेदरल्यान्ड्सको राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक थिए । डिपे पनि सोही देशका खेलाडी हुन् । बार्सिलोनाबाट प्रस्ताव गएपछि कोम्यानले राष्ट्रिय टोली छाडेर बार्सिलोना हुइँकिएका थिए । राष्ट्रिय टोलीमा सँगै काम गरेकाले कोम्यान र डिपेबीच राम्रो सम्बन्ध छ । एउटै देशका नागरिक भएकाले यो स्वभाविक हुने भइहाल्यो । डिपेबाट प्रभावित कोम्यानले बार्सिलोना आउनासाथ समर सिजनमै डिपे भित्र्याउन चाहेका थिए । गत जनवरी विन्डोमा पनि कोम्यानका लागि उनले खुलेरै लागेका थिए । तर, सफल भएन ।

आगामी समर सिजनमा कोम्यानको योजनामा अझै पनि डिपे छन् । बार्सिलोनाले पूर्वखेलाडी लुइस स्वारेजलाई फ्री ट्रान्सफरमा एथ्लेटिको मड्रिड पठाएपछि क्लब स्वारेजको स्थान लिने खेलाडीको खोजीमा छ । त्यसका लागि जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार अर्लिङ हल्यान्ड, इंग्सि क्लब म्यानचेस्टर सिटी छाड्ने घोषणा गरिसकेका सर्जियो अगुएरोदेखि डिपेको नाम मुख्य चर्चामा छ । क्लब २० वर्षका युवा खेलाडी हल्यान्ड नभए अगुएरो चाहन्छ । तर, कोम्यान भने यी दुवै विकल्प छाडेर अझै पनि डिपेकै पछि लागेका छन् । उनी आफैंले सो कुरा बताएका छन् ।

आखिर डिपेलाई बार्सिलोनामा ल्याएर पूर्वस्टार लुइस स्वारेजको स्थान दिनका लागि कोम्यानले जोडबल गर्नुको खास कारण के छ ? मिडियाको प्रश्नमा कोम्यानले भनेका छन्, ‘क्लबसँग केही नाम जोडिएका छन् । यो साँचो हो, डिपेका लागि मेरो योजना छ । यो कुरा मैले क्लबसँग पहिल्यै राखेको छु । यो लुकाउनुपर्ने कुरा होइन । अझै पनि उनी हाम्रा लागि आवश्यक छन् भन्नेमा म स्पष्ट छु । मैले मेरो योजना बोर्डमा स्पष्टसँग राखेको छु । मैले टिमको हितमै सोच्ने हो र योजना बनाउने हो ।’

कोम्यानले अघि भनेका छन्, ‘डिपे बार्सिलोनालाई सुहाउँदा खेलाडी हुन् । बजारमा थुप्रै खेलाडी छन् । तर, हामीलाई उनले धेरैथोक दिन सक्छन् । हामीलाई फ्रन्ट लाइनमा शारीरिक रूपमा बलियो खेलाडी चाहिएको छ, जसले टिमलाई सन्तुलनमा राख्न सक्छ । मलाई लाग्छ, यो अभाव उनले टार्न सक्छन् । किनभने, उनी शारीरिक रूपमा बलिया छन् । र, अगाडि फरक–फरक भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्छन् । हामीलाई ९ नम्बर स्थानमा अपेक्षा गरेको कुरा उनले दिनेछन्, उनमा यो क्षमता छ । तर, उनी अहिले लियोनका खेलाडी हुन् । मैले र क्लबले यस कुराको सम्मान गर्नुपर्छ । भविष्यमा के हुन्छ, त्यो हेरौंला ।’

क्लबका नयाँ अध्यक्ष जोआन लापोर्टाले नर्वेका २० वर्षीय हल्यान्ड भित्र््याउन जोड गरेको विषयमा कोम्यानले खास बताउन चाहेनन् । बरु, हल्यान्डका लागि आवश्यक बजेटले क्लबलाई भार बढ्ने कोम्यानले बताए । ‘हल्यान्डलाई सबैले मन पराउँछन्, चाहन्छन् । किनभने, उनी युवा छन् र धेरै गोल गर्छन् । तर, अहिलेको अवस्थमा कुनै पनि क्लबसँग उनका लागि ठूलो बजेट लगाउन सक्ने स्थिति छैन । मलाई लाग्छ, बार्सिलोनाले अहिलेकै अवस्थामा त्यो पूरा गर्न सक्दैन । किनभने, उनी अहिले बजारमा उच्च डिमान्ड भएका खेलाडीमध्ये एक हुन् । मैले क्लबसँग सानो बजेटबाटै टोलीको पुनर्निर्माण गर्ने योजना दिएको छु ।’

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार १४:२९
Loading...