च्याम्पियन्स लिग क्वार्टरफाइनल : भिनिसियस चम्किँदा लिभरपुलमाथि रियल मड्रिडको शानदार जित

काठमाडौं, चैत २५

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । क्वार्टरफाइनलको पहिलो लेगको खेलमा रियलले पूर्वच्याम्पियन इंग्लिस क्लब लिभरपुललाई १–३ अन्तरले पराजित गरेको हो । रियलको यो उत्कृष्ट जितमा ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियर नायक बने । उनले प्रभावकारी प्रदर्शनका साथमा २ गोल गरे ।

नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा रियलले आफ्नो घरेलु मैदानमा पाहुना टोली लिभरपुलमाथि सुविधाजनक जित निकाल्दा रियलका लागि २ गोल भिनिसियस जुनियर र १ गोल भने मार्को एसेन्सियोले गरे । टोलीका प्रमुख खेलाडी तथा कप्तान सर्जियो रामोस र इडेन हाजार्डबिनै रियललाई महत्त्वपूर्ण जितका लागि भिनिसियसले म्यान अफ् द म्याच योगदान दिए ।

अल्फ्रेडो डे स्टेफानो रंगशालामा भएको खेलमा भिनिसियसले खेलको २७औं मिनेटमा शानदार गोल गरेर टिमलाई अग्रता दिलाएका थिए टोनी क्रुसको पासमा बक्स भित्रबाट उनले लो सटमा हानेको प्रहारले सोझै जाली चुमेको थियो । त्यसपछि रियलका लागि दोस्रो गोल खेलको ३६औं मिनेटमा मार्को एसेन्सियोले गरे । लिभरपुलका डिफेन्डर र गोलकिपरलाइ बिट गर्दै उनले भलीमा सुन्दर गोल गरेपछि रियल खेलमा २–० ले अघि भएको थियो ।

दोस्रो हाफमा लिभरपुलले चाँडै गरी खेलमा फर्किने संकेत देखाएको थियो । ५१औं मिनेटमा मोहमद सालाहले रियलका डिफेन्डरका माझबाट गोल गरेपछि खेल ३–१ भयो । तर, रियलले आफ्नो घरमा चाँडै तेस्रो गोल पनि निकाल्न सफल भयो । यसपटक ६५औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक उनले लुका मोड्रिचको पासमा अर्को दर्शनीय गोल गरे ।

मोड्रिचले बक्स भित्रबाट दिएको पासमा लिभरपुलका डिफेन्डरका बीचमा रहेका भिनिसियसले वान टचमै लो सटमा बललाई सोझै जाली चुमाएपछि खेल रियलको कब्जामा गएको थियो । भिनिसियले बक्समा पाएको अवसरमा कुनै गल्ती नगरी टिमको जितको बाटा देखाएको थिए । अन्ततः सो गोलपछि खेलमा थप गोल भएन । र, खेल रियलले ३–१ ले जित्यो ।

पहिलो लेगमा ३ गोल गरेपछि रियललाई अब दोस्रो लेगमा दबाब कम भएको छ । दोस्रो लिग खेल्न लिभरपुलको घरमा जाँदा रियल १–० ले पराजित भए पनि केही फरक पर्दैन । तर, लिभरपुलले भने कम्तीमा २–० को जित निकाल्नुपर्छ । दोस्रो लेग अब एक सातापछि अप्रिल १४ मा लिभरपुलको मैदानमा हुनेछ ।

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार ०२:५१
Loading...