च्याम्पियन्स लिग क्वार्टरफाइनल : आज म्यानचेस्टर सिटी र डर्टमुन्ड भिड्दै

काठमाडौं, चैत २४

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आजबाट अन्तिम आठ (क्वार्टरफाइनल) चरणका खेलहरू हुँदैछन् । आज हुने पहिलो लेगमा दुई खेलमध्ये एक खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बोरुसिया डर्टमुन्डको रोमाञ्चक खेल हुँदैछ । अन्तिम आठमा तुलनात्मक रूपमा सिटीलाई सहज प्रतिस्पर्धी परेको छ । यो खेल सिटीको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । यो सिजन घरेलु लिग बुन्डेसलिगामा खराब अवस्थामा रहेको डर्टमुन्ड आज ठूलै दबाबमा हुनेछ ।

पेप ग्वार्डिओलाको कमान्डमा यो सिजन शानदार लयमा रहेको सिटी अझै पनि चारवटा उपाधि जित्ने होडमा छ । ऊ प्रिमियर लिगको उपाधिको धेरै नजिक पुगिसकेको छ भने अन्य दुई कप प्रतियोगितामा पनि उपाधि नजिक पुगेको छ । यता, च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेशका लागि उसले अन्य टोलीको भन्दा सहज प्रतिस्पर्धी पाएकाले उसलाई सेमिफाइनल पुग्ने सम्भावित टोलीका रूपमा हेरिएको छ ।

डर्टमुन्ड अहिले बुन्डेसलिगामा ठूलै संघर्षरत अवस्थामा छ । सिजन सकिँदा ऊ शीर्ष चारमा समेत रहन कठिन पर्ने अवस्थामा रहँदा च्याम्पियन्स लिगमा पनि ठूलो टोलीसँगको खेल उसका लागि निकै दबाबपूर्ण हुने पक्का छ । यदि उसले सिटीलाई आउट गराए त्यो अप्रत्यासित नतिजा हुनेछ । यसअघि अन्तिम १६ मा डर्टमुन्डले स्पेनिस क्लब सेभिल्लालाई ५–४ ले हराएको थियो भने सिटीले जर्मन क्लब मोन्चेङ्लाडवाचलाई ४–० ले हराएको थियो ।

हेभिवेट सिटीविरुद्ध उत्रिँदा डर्टमुन्डलाई युवा स्टार अर्लिङ हल्यान्डको ठूलो भरोसा हुनेछ । पछिल्लो समय लगातार गोलको खडेरीबाट गुज्रिँदै आएका उनी सिटीविरुद्ध आफ्नो लय सात्ने दाउमा हुनेछन् । अन्तर्राष्ट्रिय ड्युटीमा फिफा विश्वकपअन्तर्गत नर्वेका तीन खेलमा लागतार गोलविहीन बनेका उनले त्यसपछि डर्टमुन्डको पहिलो खेलमा पनि गोलविहीन बनेका थिए । लगातार चार खेलसम्मको गोलको खडेरी उनी च्याम्पियन्स लिगमा सिटीविरुद्ध अन्त्य गर्ने योजनामा छन् । यो सिजन च्याम्प्यिन्स लिगमा मात्रै ६ खेलबाट १० गोल गरेर सर्वाधिक गोकलर्ताको सूचीमा रहेका उनी सिटीका लागि टाउको दुखाइ बन्न सक्नेछन् ।

प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार ०३:५१
Loading...