बार्सिलोना आज भाल्लाडोलिडसँग खेल्दै : एथ्लेटिकोसँग दूरी १ अंकमा छोट्याउने मौका

काठमाडौं, चैत २३

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज एक महत्त्वपूर्ण खेल हुँदैछ, जहाँ उपाधि होडमा रहेको बार्सिलोना र रियल भल्लाडोलिडको खेल हुँदैछ । यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । बार्सिलोनाका लागि आजको खेल एकदमै महत्त्वपूर्ण छ । उपाधि होडमा अघि बढ््न र लिग लिडर एथ्लेटिको मड्रिडमाथि सोझो दबाब बनाउनका लागि बार्सिलोनालाई आजको खेलमा जित अनिवार्य छ ।

यदि आफ्नो मैदान क्याम्प नोउ रंगशाला भाल्लाडोलिडलाई हराउन सके बार्सिलोनाले लिग लिडर एथ्लृटिको मड्रिडसँगको दूरी १ मा छोट्याउनेछ । उसलाई उपाधिमा अघि बढ्न आजको खेल एक सुनौलो अवसर हो । हाल बार्सिलोना २८ खेलपछि ६२ अंकका साथ तेस्रो स्थानमा छ । ऊ अहिले समान २९–२९ खेल खेलेको लिग लिडर एथ्लेटिकोभन्दा ४ अंक र दोस्रो स्थानको रियल मड्रिडभन्दा १ अंकले पछि छ । यदि आज जित्न सके बार्सिलोनाले रियललाई २ अंकले पछि पार्दै दोस्रोमा चढ्दा एथ्लेटिकोसँग दूरी पनि करिब–करिब सकिनेछ ।

त्यसैले आज लिगको १६औं स्थानको भाल्लाडोलिडलाई आफ्नो घरमा स्वागत गर्दा बार्सिलोनासँग उत्साह र दबाब दुवै हुनेछ । उसलाई आजको खेलमा कुनै पनि हालतमा जित र ३ अंक आवश्यक छ । तर, यदि पराजित भए वा बराबरीमा रोकिए रियल मड्रिडले यसको सोझो फाइदा लिने पक्का छ । आजको खेलपछि अर्को खेलमा बार्सिलोनाले रियल मड्रिडसँग सिजनको दोस्रो इएल क्लासिको खेल्ने हुँदा सो खेलअघि बार्सिलोना रियललाई नै पछि पार्दै दोस्रो स्थानमा चढ्ने दाउमा छ ।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार ११:४४
Loading...