एथ्लेटिको मड्रिडलाई कोम्यानको अर्थपूर्ण सन्देश

एजेन्सी, चैत २२

स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले घरेलु लिग ला लिगाको उपाधि होड अझै पनि टप–३ टिमका लागि खुला रहेको बताएका छन् । भोलि लिगको २९औं साताको खेल रियल भाल्लाडोलिडविरुद्ध खेल्नुअघि मिडियासँग कुरा गर्दै डच म्यानेजरले लिगको उपाधि होडमा एथ्लेटिको मड्रिडसँग बार्सिलोना र रियल मड्रिड पनि अन्तिमसम्म नै रहने बताएका छन् । अहिलेको स्थितिमा एथ्लेटिको सुविधाजनक अवस्थामा रहे पनि आगामी खेलले यो स्थिति बदलिने दाबी कोम्यानले गरेका छन् ।

हाल अंक तालिकामा एथ्लेटिको २८ खेलपछि ६६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । रियल मड्रिड २९ खेलपछि ६३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । बार्सिलोना २८ खेलपछि ६२ अंकका साथ तेस्रो स्थानमा रहेका छन् भने सेभिल्ला २८ खेलपछि ५५ अंकका साथ चौथो स्थानमा रहेको छ । ला लिगामा अब दोस्रो इएल क्लासिको हुन बाँकी छ भने बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको दोस्रो खेल बाँकी नै छ । यी दुई खेलले ला लिगामा अबको उपाधि दिशा तय हुनेछ ।

यदि दोस्रो क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई हरायो र बार्सिलोना–एथ्लेटिको बीचको खेलमा बार्सिलोना पराजित भयो भने रियल उपाधि यात्रामा अघि बढ्नेछ । यदि दोस्रो क्लासिकोमा बार्सिलोनाले रियललाई हरायो र एथ्लेटिकोसँगको आफ्नो खेलमा पनि स्पष्ट जित निकाल्न सके बार्सिलोना पनि उपाधि यात्रामा अघि बढ्नेछ । यस्तो स्थितिमा अब यी दुई खेल नै उपाधि होडलाई आकार दिने मुख्य खेलहरू हुनेछन् । आज राति चौाथो स्थानको सेभिल्ला र लिग लिडर एथ्लेटिकोबीच खेल हुँदैछ । यो खेलमा एथ्लेटिको पराजित भए वा रोकिए रियल र बार्सिलोनालाई फाइदा पुग्नेछ ।

कोम्यानले यी नै दुई खेलले ला लिगा उपाधि कसले जित्न सक्छ भनेर दृश्य देखिने बताएका छन् । ‘मेरो विचारमा ला लिगामा अझै टप–३ टोली सबैका लागि उपाधि खुला छ । अहिलेलाई एथ्लेटिको मड्रिडलाई सजिलो छ । तर, लिगका आगामी दुई खेलपछि उपाधिका लागि को अघि बढ्छ भनेर देखिनेछ,’ कोम्यानले भने, ‘दोस्रो क्लासिको र बार्सिलोना–एथ्लेटिको बीचको खेलले उपाधि होडलाई निर्भर गर्नेछ । यी खेलमाथि सबैको नजर रहनेछ ।’

कोम्यानले एथ्लेटिको मड्रिडलाई सन्देश दिँदै बार्सिलोना अन्तिम खेलसम्म उपाधि होडमा रहने बताएका छन् । ‘हामी अहिले शान्त छौं । च्याम्पियन्स लिगबाट आउट भएपछि हाम्रो ध्यान अब ला लिगामा छ । हामी एथ्लेटिको मड्रिडको सम्मान गर्छौं । तर, हामी उनीहरूसँग उपाधिका लागि अन्तिम खेलसम्म नै लड्नेछौं । अहिले मेरो ध्यान एथ्लेटिकोका खेल र नतिजामा छैन, आफ्ना खेल र नतिजामा केन्द्रित छ । हामी आफ्ना १० खेलमा केन्द्रित छौं । हामी हरेक खेलको अवस्था र नतिजा विश्लेषण गर्दै अघि बढ्नेछौं,’ कोम्यानले थपे ।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार १९:०१
Loading...