अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमको मुख्य प्रशिक्षमा नियुक्त

काठमाडौं, चैत २२

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिसअनुसार राष्ट्रिय टिमको कमान्ड सुम्पिएको हो । यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए । अब अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

कतार विश्वकप–२०२२ छनौट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु–२३ टिम सम्हालिसकेका छन् । उनी किर्गिस्तानको यु–१७ टिमको प्रशिक्षक भएर काम गरिसकेका छन् । कुनै पनि सिनियर टिम सम्हालेको उनले नेपाली टोली नै पहिलो टोली बन्ने भएको छ ।

उनीसँग साउदी कतार, किर्गिस्तान, अरेबिया र कुवेतका विभिन्न टिमको प्रशिक्षक भएर काम गरेको अनुभव छ । आगामी जुन महिनामा हुने विश्वकप छनौटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा पनि अब्दुल्लाहले नेपाली टोलीको नेतृत्व गर्नेछन् । नेपालले केही दिनअघि मात्रै काठमाडौंमा बंगलादेशलाई हराएर त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । त्यसबेला बालगोपाल महर्जनले नै टोली सम्हालेका थिए ।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार १५:३४
Loading...