ला लिगमा आज सेभिल्ला र एथ्लेटिको मड्रिड भिड्दै

काठमाडौं, चैत २२

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति एक महत्त्वपूर्ण खेल हुँदैछ । आज लिगको २९औं साताको खेलमा लिग लिडर एथ्लेटिको मड्रिड र चौथो स्थानको सेभिल्ला आमनेसामने हुँदैछन् । यो खेल सेभिल्लाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । यो खेल दुवै टोलीका लागि२९औं साताको खेल हो । लिग लिडर एथ्लेटिकोलाई उपाधि यात्रा होडमा अग्रता बचाउन आजको खेल निकै महत्त्वपूर्ण हुनेछ ।

हाल अंक तालिकामा एथ्लेटिको २८ खेलपछि ६६ अंकका साथ पहिलो स्थानमा रहेको छ । सेभिल्ला ५५ अंकका साथ चौथो स्थानमा रहेको छ । २९ खेल खेलेको रियल मड्रिड ६३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । २८ खेल खेलेको बार्सिलोना ६२ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष स्थानमा अग्रता बचाइराख्न एथ्लेटिकोका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । यो सिजन मात्रै २ खेल हारेको एथ्लेटिको उपाधि होडमा सुविधाजनक अग्रता बनाएर रहेकाले आज सेभिल्लालाई उसकै घरमा हराए एथ्लेटिको दोस्रो स्थानको रियल मड्रिडभन्दा ६ अंकले अघि रहनेछ ।

यदि आज सेभिल्लाले आफ्नो घरमा एथ्लेटिकोलाई हराए त्यसको सोझो फाइदा बासिलोना र रियल मड्रिडलाई पुग्नेछ । त्यो बेला २ दिनपछि बार्सिलोनाले आफ्नो खेल जितेर एथ्लेकिोसँगको दूरी १ मा छोट्याउनेछ भने रियलसँगको दूरी पनि ३ मा घट्नेछ । तसर्थ, एथ्लेटिकोलाई बाँकी खेलमा रोक्न सक्ने केही टिमध्ये सेभिल्ला एक भएकाले आज अवे मैदानमा उत्रिँदा एथ्लेटिकोमाथि चर्को दबाब हुनेछ । यदि स्पष्ट जित निकाल्न नसके एथ्लेटिको मड्रिडको शीर्ष स्थान झन् संकटमा पर्नेछ ।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार १२:०५
Loading...