सिरी ए : इन्टर मिलानले जित्दा युभेन्टस १२ अंकले पछि पर्‍यो

काठमाडौं, चैत २२

इटालियन सिरी ए लिगमा इन्टर मिलान स्पष्ट रूपमा उपाधितर्फ अघि बढेको छ । गत राति भएको लिगको २८औं साताको खेलमा बोलोग्नालाई उसकै घरेलु मैदानमा ०–१ ले पराजित गरेपछि इन्टर उपाधि होडमा अघि बढेको हो । यो जितपछि मिलानले उपाधि यात्रामा निकै सुविधाजनक अग्रता बनाउन सफल भएको छ । साबिक विजेता युभेन्टस त मिलानको यो जितपछि समान खेल खेलेको अवस्थामा ठीक १२ अंकले पछि परिसकेको छ ।

अवे मैदानमा इन्टरलाई जिताउन १ मात्रै विजयी गोल खेलको ३१औं मिनेटमा रोमेलु लुकाकुले गरेका थिए । सो गोलपछि बाँकी समयभरि नै दुवै तर्फबाट थप गोल नभएपछि खेल मिलानले ०–१ ले जित्यो । बेल्जियन स्टार लुकाकुका लागि गत रातिको गोल यो सिजनको २०औं लिग गोल हो । उनले २७ खेलबाट २० गोल गरेका हुन् । लुकाकु अब युभेन्टसका क्रिस्टियानो रोनाल्डोपछि सर्वाधिक गोलकर्ताको सूचीमा दोसो स्थानमा छन् ।

अब यो जितपछि मिलानले २८ खेलबाट कूल ६८ अंक बनाएको छ । उसले यो सिजन २१ खेल जितेर ५ खेल बराबरी गर्दा मात्रै २ खेल हारेको छ । अब इन्टरले एक खेल बढी खेलेको दोस्रो स्थानको एसी मिलानलाई ठीक ८ अंकले पछि पारेको छ । बाँकी एक खेल पनि जिते एसी मिलान ११ अंकले पछि पर्नेछ । यता, युभेन्टस र इन्टरले बराबरी खेल खेलेको अवस्थामा साबिक विजेता युभेन्टस ठीक १२ अंकले पछि परिसकेको छ । युभेन्टसका लागि यो सिजनको उपाधि अब करिब–करिब सकिएको छ ।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार ०८:३८
Loading...