बिल्बाओलाई हराउँदै  रियल सोसिडाडले जित्यो कोपा डेल रे कपको उपाधि

काठमाडौं, चैत २२

स्पेनिस कप कोपा डेल रे फुटबलको उपाधि रियल सोसिडाडले जितेको छ । गत राति भएको सिजन २०१९–२० को फाइनल खेलमा सोसिडडाले ला लिगा टोली एथ्लेटिक बिल्बाओलाई १–० ले हराउँदै उपाधि जितेको हो । अघिल्लो सिजन नै हुनुपर्ने फाइनल खेल कोरोना भाइरसका कारण स्थगित भएको थियो । सो फाइनल खेल एक वर्षपछि गत राति खेलाइएको हो । त्यसबेला कोरोनाका कारण विश्वभर फुटबल गतिविधि ठप्प हुँदा कोपाको फाइनल पनि स्थगित भएको थियो ।

गत राति सेभिल्लामा भएको उपाधि भिडन्तमा सोसिडाडले ला लिगाको अर्को बलियो टोली बिल्बाओलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भयो । यससँगै सोसिडाडले ३४ वर्षमा पहिलोपटक कोपाको उपाधि जित्न सफल भएको छ । फाइनल खेलमा सोसिडाडलाई उपाधि जिताउन १ मात्रै निर्णयक गोल कप्तान मिकेल ओयारजबालले गरेका थिए । उनले खेलको ६३औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए

रेफ्रीले ५ मिनेटसम्म भिएआरमार्फत् रिभ्यु गरेपछि सोसिडाडलाई पेनाल्टी दिने निर्णय गरेका थिए । जसमा ओयारजबालले बिल्बाओका गोलकिपरलाई गलत दिशामा पठाए र बलले सजिलै जाली चुम्यो । त्यसपछि बिल्बाओ खेलमा फर्किन नसकेपछि खेल सोसिडाडले १–० ल जित्यो । यता, पराजित बिल्बाओ यो सिजन पनि कोपाको फाइनल पुगेको छ । उसले फाइनलमा उपाधिका लागि अप्रिल १७ तारिखमा बार्सिलोनासँग भिडन्त गर्दैछ । बिल्बाओले कापाको उपाधि जित्न नसकेको ३७ वर्ष भइसकेको छ ।

यसपटक लगातार कोपाको दुई फाइनल खेलेर उसलाई उपाधिबिनाको लामो यात्रामा पूर्णविराम लगाउने अवसर थियो । गत राति पहिला फाइनलमा उसले उपाधि रक्षा गर्न सकेन । अब बार्सिलोनाको फाइनल खेल उसका लागि उपाधि जित्ने अर्को अवसर रहेको छ ।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार ०७:४४
Loading...