युभेन्टसलाई रोनाल्डोले बचाए हारबाट : उपाधि भने झन् टाढा

काठमाडौं, चैत २१

इटालियन सिरी ए लिगमा साबिक च्याम्पियन युभेन्टसलाई उपाधि होडमा अर्को ठूलो झट्का लागेको छ । अन्तर्राष्ट्रिय ब्रेकपछि सिरी ए लिगमा भएको पहिलो खेलमा युभेन्टस टुरिन डर्बीमा टोरिनोसँग हारबाट मुस्किलले बचेको छ । आज शनिबार राति भएको २८औं खेलमा युभेन्टस टोरिनोको मैदानमा हारमा मुखमा पुगेर अन्तिम समयमा गोल गर्दै हारबाट बचेको हो । युभेन्टसलाई हारको मुखबाट उद्धार गर्न क्रिस्टियानो रोनाल्डोले बराबरी गोल गरेका थिए ।

युभेन्टसले खेलको १३औं मिनेटमा फेडरिको किइजाको गोलबाट अग्रता लिएको थियो । किइजाले बक्स भित्रबाट निकै शानदार गोल गरेका थिए । तर, खेलको २७औं मिनेटमा घरेलु टोली टोरिनो खेलमा फर्कियो । एन्टोनियो सनाब्रियाले युभेन्टसको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेर खेल १–१ बनाए । त्यसपछि दोस्रो हाफ सुरु भएको २५ सेकेन्डमै टोरिनोले खेलमा अग्रता लिन सफल भयो । यसपटक पनि सनाब्रियाले नै व्यक्तिगतत दोस्रो गोल गरेका थिए ।

त्यसपछि चर्को दबाबमा परेको युभेन्सलाई बराबरी गोलका लागि ठूलै संघर्ष गर्नु परेको थियो । टिम हारतर्फ अघि बढेका बेला खेलको ७९औं मिनेटमा रोनाल्डोले हेडिङमार्फत् गोल गरेर खेल २–२ बनाएका थिए । रोनाल्डोको गोललाई भिएआरले मान्यता दिएको थियो । त्यसपछि खेलमा थप गोल भएन । र, खेल २–२ को बराबरीमा सकियो ।

अब यो बराबरीपछि युभेन्टसको उपाधि होड झनै संकटमा परेको छ । उसका लागि अब उपाधि होडमा फर्किन करिब–करिब असम्भव बनेको छ । उसको खातामा २८ खेलपछि ५६ अंक मात्रै भएको छ । यता, टोरिनोको खातामा २४ अंक छ । लिग लिडर इन्टर मिलानले आज राति बोेलोग्नासँग आफ्नो खेल खेल्नुअघिसम्म युभेन्टस इन्टरभन्दा ९ अंकले पछि । यदि आज राति इन्टर विजयी भए युभेन्टस समान खेलपछि १२ अंकले पछि पर्नेछ । त्यसपछि लिगमा अन्तिम १० खेल बाँकी रहनेछन् ।

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार २३:२२
Loading...