पिएसजीलाई उसकै घरमा हराउँदै लिले शीर्ष स्थानमा : नेइमारलाई रातो कार्ड !

काठमाडौं, चैत २१

अन्तर्राष्ट्रिय ब्रेकपछिको पहिलो खेलमा फ्रेन्च क्लब पिएसजी घरेलु लिग वान फुटबलमा पराजित भएको छ । आज शनिबार राति भएको लिगको ३१औं साताको खेलमा पिएसजीलाई उसकै घरेलु मैदानमा पाहुना टोली लिलेले ०–१ ले पराजित गरेको हो । पिएसजीका लागि यो हार निकै महँगो पर्ने भएको छ ।

यो हारपछि पिएसजीले अंक तालिकाको शीर्ष स्थानमा चढ्ने मौका मात्रै गुमाएन, प्रमुख खेलाडी नेइमाले रातो कार्ड समेत पाए । लामो समयपछि चोटमुक्त हुँदै केही समयअघि मात्रै मैदान फर्किएका नेइमारले दोस्रो खेलमै रातो कार्ड पाएका हुन् । पाहुना टोली लिलेले खेलको २०औं मिनेटमा जोनाथन डेभिडको गोलबाट अग्रता लिएको थियो । अन्ततः उसले सोही गोलको अग्रता बचाएर खेल जित्यो ।

खेलको ९० मिनेटपछि थप समयमा पिएसजीका नेइमार र लिलेका टियागो डिजालाले रातो कार्ड खाँदै मैदान छाडे । दुवैजनाले दोहोरो पहेंलोका साथ रातो कार्ड पाएका थिए । दोस्रो पहेंलो कार्डमा दुई पक्षका खेलाडीबीच झडप भएपछि रेफ्रीले कार्ड देखाउँदै मैदानबाट निकालेका थिए । यससँगै नेइमारले सन् २०२० देखि यता मात्रै लिग वानमा तीनपटक रातो कार्ड खाएका छन्, अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

उपाधि होडमा रहेको लिलेविरुद्ध पिएसजीले नेइमार, केलियन एमबाप्पे, एन्जल डिमारिया र मोइसे किनसहितका खेलाडी सुरुआतबाटै उतारे पनि गोल गर्न नसक्दा घरमै हार भोगेको हो । अब यो जितपछि लिलेले पिएसजीलाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा चढेको छ । उसले पराजित पिएसजीलाई स्पष्ट ३ अंकले दोस्रो स्थानमा पछि छाडेको छ । दुवैले समान ३१–३१ खल खेलेका छन् । लिलेको खातामा ६६ अंक छ भने पिएसजीको खातामा ६३ अंक छ । लिगमा अब अन्तिम ७ खेल मात्रै बाँकी छन् ।

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार २३:०६
Loading...