१९औं स्थानको वेस्ट ब्रुमसँग आफ्नै घरमा चेल्सीको बेइज्जतीपूर्ण हार !

काठमाडौं, चैत २१

अन्तर्र्राष्ट्रिय ब्रेकपछिको पहिलो खेलमा इंग्लिस क्लब चेल्सी प्रिमियर लिगमा बेइज्जतीपूर्ण हारको सिकार भएको छ । आज भएको खेलमा चेल्सीलाई १९औं स्थानको पाहुना टोली वेस्ट ब्रुमले उसकै घरेलु मैदानमा २–५ ले धुलाइ गरेको हो । यससँगै चेल्सी वेस्ट ब्रुमसँग सन् १९७८ पछि अर्थात् ४३ वर्षपछि पहिलोपटक स्टामफोर्ड ब्रीजमा पराजित भएको छ । वेस्ट ब्रुम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नयाँ टोली हो । तर, उसले चौथो स्थानको हेभिवेट टोलीलाई उसकै घरमा नमिठो हार चखाउन सफल भयो ।

आफ्नो घरेलु मैदानमा चेल्सी खेलको २९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । डिफेन्डर थियागो सिल्भा दोहोरों पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेपछि चेल्सी संकटमा परेको थियो । त्यसकै फाइदा उठाउँदै पाहुना टोलीले गोलको वर्षा नै गरेको हो । सिल्भा रातो कार्ड पाएर मैदान छाड्दा खेलमा चेल्सीले अग्रता लिएको थियो । २७औं मिनेटमा क्रिस्टिएन पुलिसिचले गोल गरेका थिए । तर, त्यसपछि सिल्भा रातो कार्ड पाएर मैदान छाडेपछि चेल्सी समस्यामा परेको थियो । त्यससपछि पाहुना टोली वेस्ट ब्रुमले खेलमा लगातार सनसनीपूर्ण मोड ल्याइरह्यो ।

वेस्ट ब्रुमलाई खेलमा फर्काएर सनसनीपूर्ण जित दिलाउन २ जना खेलाडीले २–२ गोल गरेका थिए । माथेउस पेरेरियाले २ मिनेटमा २ गोल गरे भने सब्सिच्युट खेलाडी कालुम रोबिनसले पनि २ गोल गरे । वेस्ट ब्रुमका लागि पहिलो हाफको इन्जुरी समयमा पेरेरियाले २ गोल गरे । उनले पहिलो गोल ४७औं मिनेटमा गरे भने दोस्रो गोल ४९औं मिनेटमा गरेका थिए । वेस्ट ब्रुम पहिलो हाफमै पछि परेको अवस्था उल्टाएर खेलमा फर्किएको थियो ।

त्यसपछि खेलको ६०औं मिनेटमा रोबिनसनले गोल गरेर खेल १–३ बनाए भने ६८औं मिनेटमा एमबाए डिग्नेले गोल गेरपछि चेल्सी १–४ ले पछि परेको थियो । त्यसपछि ७१औं मिनेटमा चेल्सीका लागि मासोन मोउन्टले गोल गरेर खेल २–४ बनाएका थिए । तर, इन्जुरी समयको पहिलो मिनेटमा वेस्ट ब्रुमका लागि रोबिनसले गोल गरेपछि खेल वेस्ट ब्रमुले २–५ ले जित्यो । चेल्सीका लागि आजको हार यो सिजनको खराबमध्येको एक हो ।

नयाँ प्रशिक्षक थोमस टुचेलले चेल्सी सम्हालिकन चेल्सीले घरेलु मैदानमा १ गोल पनि खाएको थिएन । तर, आज १९औैं स्थानको टिमले एकैपटक ५ गोल हानेर चेल्सीलाई नमिठो पीडा दिएको छ । अब यो हारपछि चेल्सी ३० खलपछि ५१ अंकका साथ चौथो स्थानमा यथावत छ । विजयी वेस्ट ब्रुम अझै पनि ३० खेलपछि २१ अंकका साथ १९औं स्थानमै रहेको छ ।

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार १९:०८
Loading...