दोस्रो स्थानको एसी मिलान घरमै बराबरीमा रोकियो : युभेन्टसलाई फाइदा !

काठमाडौं, चैत २१

अन्तर्राष्ट्रिय ब्रेकपछिको पहिलो खेलमा इटालियन क्लब एसी मिलान घरेलु लिग सिरी ए फुटबलमा हारबाट मुस्किलले बचेको छ । आज भएको लिगको २९औं साताको खेलमा मिलान आफ्नै घरेलु मैदानमा १० खेलाडीमा सीमित साम्पाडेरियासँग १–१ को बराबरीमा रोकिएको हो । मिलानले हार नजिक पुगेका बेला अन्तिम समयमा गोल गर्दै हार पन्छाएको हो । यो बराबरीले लिग लिडर इन्टर मिलानमाथि दबाब बढाउने मौका गुमेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल भएन । तर, दोस्रो हाफमा दुवै तर्फबाट १–१ गोल भयो भने पाहुना टोली साम्पडोरिया खेलको ५९औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । मिडफिल्डर आड्रेन सिल्भा दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेपछि घरेलु टोलीलाई त्यसको फाइदा लिने अवसर थियो । तर, त्यसो भएन । त्यसअघि नै पाहुना टोली साम्पडोरियाले गोल गरेर घरेलु टोलीलाइई झट्का दिइसकेएको थियो ।

खेलको ५७औं मिनेटमा भेट्रान फरवार्ड फाबियो क्वाग्लिएरिल्लाले गोल गरेर मिलानलाई ०–१ ले पछि पारेका थिए । त्यसको २ मिनेटमै साम्पडोरिया १० खेलाडीमा सीमित भएपनि मिलानलाई बराबरी गोल फर्काउन ठूलै संघर्ष गर्नु परेको थियो । टिम हार नजिक पुगेका बेला ८७औं मिनेटमा युवा खेलाडी जेन्स पेटर हाउगेले गोल सुन्दर गोल गरेपछि मिलान आफ्नै घरमा हारबाट बच्यो । बराबरी गोल गरेपछि मिलानको एक शानदार प्रहार पोलमा लागेर फर्किंदा ऊ जितबाट चुकेको थियो ।

अब यो बराबरीसँगै मिलानले २९ खेलबाट कूल ६० अंक जोडेको छ । यो खेलबाट २ अंक गुमाउँदा अब तेस्रो स्थानको युभेन्टसलाई दोस्रो स्थानमा उक्लिन सहज भएको छ । अब दुई खेल कम खेलेको लिग लिडर इन्टर मिलान एसी मिलान भन्दा ५ अंकले अघि छ । यता, २७ नै खेल खेलेको युभेन्टस एसी मिलानभन्दा ५ अंकले पछि रहेर तेस्रो स्थानमा छ । युभेन्टसले आजै राति आफ्नो खेल टोरिनोसँग खेल्दै छ । यो खेल जिते उसले एसी मिलानसँगको दूरी २ मा छोट्याउनेछ । अर्को बाँकी खेलमा नापोलीलाई हराएर युभेन्टस १ अंकको अग्रतासहित दोस्रो स्थानमा चढ्नेछ । यता, साम्पडोरिया भने यो बराबरीपछि ३६ अंकका साथ १०औं स्थानमा चढेको छ ।

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार १८:०५
Loading...