ला लिगा : रियल मड्रिड आज एइबारसँग खेल्दै, दोस्रो स्थानमा चढ्ने मौका

काठमाडौं, चैत २१

अन्तर्राष्ट्रिय ब्रेक सकिएपछि स्पेनिस क्लब रियल मड्रिडले आज ला लिगामा आफ्नो पहिलो खेल एइबारसँग खेल्दै छ । लिगको २९औं साताको खेल खेल्नका लागि रियलले एइबारलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल रियलको टिम ‘बी’को घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा नेपाली समयअनुसा राति ठीक ८ बजेबाट सुरु हुनेछ । रियल अन्तर्राष्ट्रिय ब्रेकपछिको पहिलो खेल जितेर आज अंक तालिकाको दोस्रो स्थानमा चढ्ने दाउमा रहेको छ ।

हाल पोइन्ट टेबलमा रियल ६० अंकका साथ तेस्रो स्थानमा रहेको छ । ऊ अहिले समान खेल खेलेका दोस्रो स्थानको बार्सिलोनाभन्दा २ र लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ६ अंकले पछि छ । यदि आज आफ्नो घरमा रियलले स्पष्ट जित निकाल्न सके ऊ दोस्रो स्थानको बार्सिलोनालाई पछि पार्दै एक स्थान माथि उक्लिनेछ । बार्सिलोनाभन्दा एक खेल बढीको खेलेको अवस्थामा त्यो बेला रियलसँग १ अंकको अग्रता हुनेछ । बार्सिलोनाले आफ्नो खेल भने भोलि मात्रै खेल्नेछ ।

रियलका लागि उपाधि होडमा प्रतिस्पर्धा बनाइराख्नका लागि अबका हरेक खेल महत्त्वपूर्ण हुनेछन् । हिजो पत्रकार सम्मेलनमा कुरा गर्दै रियलका प्रशिक्षक जिनेदिन जिदानले आफूहरूका लागि अब ला लिगामा १० वटै खेल फाइनलसरह हुने बताउँदै उपाधिका लागि अन्तिम खेलसम्म कडा संघर्ष गर्ने बताएका छन् । रियलले लिगका बाँकी सबै खेल जितेर अझै च्याम्पियन बन्ने लक्ष्यमा रहेको जिदानले बताएका थिए ।

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार १२:१२
Loading...