जिदानको हुङ्कार– ‘रियल मड्रिडले अब १५ वटा फाइनल खेल्नेछ’

एजेन्सी, चैत २०

स्पेनिस क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले अन्तर्राष्ट्रिय ब्रेक सकिएर क्लब फुटबल सुचारु हुनुअघि आक्रामक अभिव्यक्ति दिएका छन् । रियल मड्रिडले यो सिजन १५ वटा फाइनल खेल्ने भन्दै आफूहरूका लागि अब सिजनका हरेक खेल फाइनलसरह हुने जिदानले बताएका छन् । फ्रेन्च कोच जिदानले रियल मड्रिडले यो सिजन बाँकी दुईवटै प्रतियोगिता ला लिगा र च्याम्पियन्स लिगको अन्तिम खेलसम्म उपाधिका लागि लड्ने पनि बताएका छन् ।

रियलले भोलि शनिबार ला लिागमा लिगको २९औं साताको खेल आफ्नो घरेलु मैदानमा एइबारसँग खेल्दै छ । सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै जिदानले यस्तो धारणा राखेका हुन् । रियल हाल ला लिगामा तेस्रो स्थानमा रहेको छ । ऊ लिग लिडर एथ्लेटिको मड्रिभन्दा ६ अंक र दोस्रो स्थानको बार्सिलोनाभन्दा २ अंकले पछि । यता, रियल च्याम्पियन्स लिगमा अब भने क्वार्टरफाइनल प्रवेश गरेको छ । रियलले ला लिगामा अब १० खेल र च्याम्पियन्स लिगको फाइनलसम्म पुगे त्यहाँ ५ खेल खेल्नेछ ।

जिदानले ला लिगाका १० खेल र च्याम्पियन्स लिगको फाइनल पुग्न सकिने दाबीका साथ ५ खेल समेत गनेर कूल १५ खेलको हिसाब गरेका हुन् । क्वार्टरफाइनलका दुई, सेमिफाइनलका दुई अनि फाइनलमा गरी रियलले ५ खेल खेल्न सक्छ, यदि फाइनलसम्म पुग्न सकेको अवस्थामा । रियल मड्रिडका लागि च्याम्पियन्स लिगका यी ५ र ला लिगामा १० गरी यो सिजनका बाँकी १५ वटै खेल आफूहरूका लागि फाइनल सरह हुने बताएका हुन् । रियल मड्रिडले खेलाडीको चोटका बाबजुद पनि हरेक खेललाई फाइनल मानेर खेल्ने जिदानको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय ब्रेकपछि हामी भोलिबाट क्लब फुटबलमा जाँदैछौं । हाम्रा केही खेलाडी चोटसँग जुधिरहेका छन् । तैपनि, हामी बाँकी खेलमा जान तयार छौं । अब हामी यो सिजनको सबैभन्दा महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछौं,’ जिदानले भने, ‘रियल मड्रिडले अबका १० दिनमा सिजनकै सबैभन्दा महत्तवपूर्ण खेलहरू खेल्दै छ । यी खेलको महत्त्व हामीलाई थाहा छ । अवश्य पनि, हामीलाई चोटको मर्का छ । तर, मसँग अझै पनि एक उत्कृष्ट टिम छ । यो टिमका साथमा हामी अघि बढ्नेछौं । मलाई मेरा खेलाडी र टिममाथि विश्वास छ ।’

जिदानले अघि भने, ‘यदि हामी च्याम्पियन्स लिग जत्छौं भने हामी अब १५ खेल खेल्नेछौं । र, हाम्रा लागि यी सबै खेल फाइनल हुनेछन् । हाम्रो लक्ष्य दुईमध्ये कुनै एक होइन, दुवै प्रतियोगिता जित्नु हो । हामी अन्तिम समयसम्म लड्नेछौं । मलाई थाहा छ, ला लिगा र च्याम्पियन्स लिग दुवै कठिन हुनेवाला छन् । तर, हामी रियल मड्रिड हौं । कठिनाइलाई सहज बनाउन हामीलाई मन पर्छ । हामी बाँकी १५ खेल ला लिगा र च्याम्पियन्स लिग दुवै जित्नका लागि खेल्नेछौं ।’

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार २०:३२
Loading...