नेसन्स कप विजेता खेलाडीलाई सरकारद्वारा आकर्षक पुरस्कार घोषणा

काठमाडौं, चैत २०

चार दिनअघि थ्री नेसन्स कप अन्तर्राष्ट्रिय कप फुटबलको उपाधि जितेको नेपाली टोलीलाई सरकारले पुरस्कार घोषणा गरेको छ । आज सरकारले उपाधि विजेता खेलाडी र प्रशिक्षकलाई जनही ४–४ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । काठमाडौंमा आयोजित नेसन्स कप फुटबलमा नेपालले पाहुना टोली बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । काठमाडौंको त्रिपुरेश्वस्थित दशरथ रंगशालामा नेपालले ३७ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।

आज शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले देशलाई उपाधि जिताउने खेलाडीलाई प्रतिव्यक्ति ४ लाख रुपैयाँका दरले पुरस्कार दिएर सम्मान गर्ने निर्णय गरेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार पुरस्कार टिमका सम्पूर्ण खेलाडी र प्रशिक्षकले पाउनेछन् । फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री ज्ञवालीसहितका सरकारका उच्चपदस्थ अधिकारी खेल हेर्न रंगशाला पुगेका थिए ।

नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु–२३ टोली गरी ३ देशले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नेपालले लिग चरणका दुई खेलमा १ गोल पनि गरी बराबरी नतिजाका आधारमा फाइनल पुगेको थियो । तर, फाइनलमा नेपालले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गररे उपाधि जित्यो । नेपालको जितमा सन्जोग राई र विशाल राईले १–१ गोल गरेका थिए । यसअघि उपाधि जितेको भोलिपल्टै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि च्याम्पियन टोलीका सदस्यलाई जनही १–१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार १७:४१
Loading...