एउटा सामान्य कुरा, जसले मेस्सीलाई बार्सिलोना छाड्नबाट रोक्न सक्छ

एजेन्सी, चैत २०

स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका फरवार्ड लिओनल मेस्सीले यो सिजन सुरु हुनुअघि नै क्लब छाड्ने फैसला गरेका थिए । तर, आफूले भने जसरी क्लबले फ्री ट्रान्सफरमा जान नदिएपछि मेस्सी बाध्य भएर क्याम्प नोउमै रहे । कारण, बार्सिलोनासँगको सम्झौता सकिन एक वर्ष बाँकी नै थियो । यसको अर्थ यो सिजनको अन्त्यसँगै मेस्सी अब आफूखुसी चाहेको क्लबमा कुनै सरुवा फीबिनै निःशुल्क जान पाउनेछन् । अब मेस्सी आफ्ना लागि आफैं एजेन्ट हुनेछन् ।

आजका दिनसम्म पनि फुटबल जगतमा मेस्सीले बार्सिलोना छाड्न सक्ने चर्चा छँदैछ । मेस्सीले २०औं वर्षदेखि रहँदै आएको क्लब छाड्न चाहनुको कारण ठूला प्रतियोगितामा लगातारको असफलता, आफ्नो बढ्दो आलोचना र क्लबमा वातावरण बिग्रँदै जानु नै हो । अघिल्ला अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग सम्बन्ध चिसिएपछि मेस्सीले क्लब छाड्ने निर्णय ब्युरोफ्याक्समार्फत् पठाएका थिए । त्यसबेला मेस्सी इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा थियो । तर, क्लबले अनुमति नदिएपछि मेस्सीको सरुवा भएन ।

पछिल्लो समय बार्सिलोनाको बोर्डमा नयाँ अध्यक्षमा जोआन लापोर्टा आएपछि क्लबमा अवस्था बदलिँदो छ । यो बदलिँदो अवस्थाले मेस्सीको सम्भावित सरुवा र भविष्यलाई पनि फरक पारिरहेको छ । दोस्रोपटक अध्यक्ष बनेका लापोर्टासँग मेस्सीको व्यक्तिगत सम्बन्ध निकै राम्रो छ । उनलाई अध्यक्षमा निर्वाचित गर्नका लागि मेस्सीले समेत भोट हालेका थिए । यो बताइन्छ कि, लापोर्टा नेतृत्वमा आएपछि बार्सिलोनामा राम्रा दिन सुरु भएका छन् । र, अब सबै कुरा राम्रो हुँदै जानेक्रममा छन् ।

यसको अर्थ कप्तान मेस्सीले पनि बार्सिलोना छाड्ने आफ्नो निर्णय बदल्ने अवस्था बन्दै गएको देखिन्छ । हाल बार्सिलोनाको वस्तुस्थिति विचार गर्ने हो भने मेस्सीले बार्सिलोना नछाड्ने स्थिति सिर्जना हुँदै गएको देखिन्छ । नयाँ अध्यक्ष लापोर्टाले पनि मेस्सीलाई क्लबमै राख्नका लागि सबैखाले प्रयास गर्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् । बार्सिलोनासँग मेस्सीको सम्झौता सकिन अब साढे दुई महिना मात्रै बाँकी छ । यसबीचमा मेस्सी र क्लबबीच नयाँ सम्झौता हुनुपर्नेछ । अन्यथा, बार्सिलोनामा मेस्सीको भविष्य अनिश्चित बन्नेछ ।

स्पेनिस सञ्चारमाध्यमका ताजा रिपोर्टहरू अनुसार पछिल्लो समय सबैभन्दा राम्रो गरी मेस्सी बार्सिलोनामै रहने वातावरण बन्दै गएको छ । उनी बिस्तारै खुसी हुन थालेका छन् । र, त्यसको प्रभाव मैदान र बाहिर पनि देखिन थालेको छ । नयाँ अध्यक्ष लापोर्टाले क्लबलाई जसरी नयाँ ढंगले अघि बढाउन खोजिरहेका छन्, मेस्सी त्यसबाट खुसी छन् । तर, यति नै मेस्सीलाई क्लबमै राख्नका लागि मनाउन पर्याप्त छैन । यसका लागि क्लले केही–केही खास कामहरू गर्नुपर्ने हुन्छ । तीमध्ये मेस्सीलाई बार्सिलोनामै राख्नका लागि बार्सिलोनामा एक अवस्था निश्चित हुनुपर्छ, जुन भए मेस्सी बार्सिलोनामा रहन राजी हुनेछन् । मेस्सीले चाहेको एउटै कुरा हो– टोलीको पुनर्निर्माण र ठूला उपाधि जित्ने वातावरण ।

हो, मेस्सीले क्लब छाड्न खोज्नुको मुख्य कारण पनि यही थियो । सन् २०१५ यता एकपटक पनि च्याम्पियन्स लिगको फाइनल पुग्न नसक्दा मेस्सी बहुत निराश छन् । त्योभन्दा पनि ठूलो कुरा त बार्सिलोना यस बीचमा च्याम्पियन्स लिगमा ६ वर्ष लगातार आउट हुँदा हरेकपटक बेइज्जतीपूर्ण हार भोग्दै आएको छ । यही कुराले मेस्सीले अपमानित महसुस गर्दै आएका छन् भने बार्सिलोनाप्रति विश्वास पनि टुटेको छ । ठूला उपाधिमा लगातार सर्वनाक हार दोहोरिँदै आउनु र क्लबले प्रतिभाशाली खेलाडी अनुबन्ध गरेर बलियो टोली बनाउन उचित निर्णय नगरेकै कारण मेस्सी बार्सिलोना छाड्ने निर्णयमा पुगेका थिए ।

तर, नयाँ अध्यक्षले विगतमा भएका कमीकमजोरी सुधार गरेर टिमलाई नयाँ ढंगले तयार पार्न विशेष तयारी गरिरहेका छन् । नयाँ अध्यक्ष लापोर्टले नयाँ सिजनका लागि प्रतिभाशाली युवा खेलाडी अनुबन्धमा सक्रिय भइसकेका छन् भने ठूला उपाधि जित्नका लागि विशेष खेल योजना बनाइरहेका छन् । यी सबै कुरा मेस्सीकै वरिपरि रहेर भइरहेका छन् । र, लापोर्टाले फेरि पनि मेस्सीलाई नै केन्द्रमा राखेर एकपटक नयाँ यात्रामा निस्कने तयारी गरिरहेका छन् । टोलीमा सुधार र ठूला उपाधि जित्नका लागि नयाँ खेल योजना, यी दुई कुराको मदतमा लापोर्टाले मेस्सीलाई नयाँ सम्झौताका लागि राजी गराउने प्रबल सम्भावना देखिएको छ ।

र, मेस्सीले बार्सिलोनामा चाहेको कुरा पनि यही हो । उनका लागि अहिले सम्झौता अवधि र तलब कुनै विषय होइन । मेस्सीको चाहना भनेको बार्सिलोनामा लगातार खेल्नु मात्रैे हैन, खेल्दै ठूला उपाधिहरू पनि जित्दै जानु हो । यो भए मात्रै मेस्सी बार्सिलोनामा खुसी हुन सक्छन् । ‘मार्का’ले भनेको छ– ‘मेस्सी बार्सिलोनामा रहन टिमले ठूला उपाधि जितिरहनुपर्छ, मेस्सीले पनि जितिरहनुपर्छ । मेस्सीले चाहेको एक मात्रै कुरा यही हो । नेतृत्वमा आएका जोआन लापोर्टाले बिस्तारै यो वातावरण बनाउने संकेत गरेका छन् । उनी अहिले मेस्सीलाई आफ्नो खेल योजनामा कन्भिन्स गराउन प्रयास गरिरहेका छन् । दृश्यहरूले यो देखाउँछ कि, मेस्सीले क्याम्प नोउसँग नयाँ सम्झौता गर्ने सबैभन्दा राम्रो वातावरण बल्ल बन्दै गएको छ ।’

मेस्सी बार्सिलोनाका ऐतिहासिक खेलाडी हुन् । हाल १७औं सिजन बिताउँदै गरेका उनले क्लबका लागि सर्वाधिक गोल र सर्वाधिक असिस्ट गरेका छन् भने सबैभन्दा धेरै ३४ उपाधि पनि जितेका छन् । उनले चार च्याम्पियन्स लिग र १० ला लिगा जित्दा ६ बालोन डिओर, ६ वटा गोल्डेन बुट पनि जितेका छन् । उनले बार्सिलोनाका लागि आजसम्म ७६८ खेलबाट ६६३ गोल र ३०० नजिक असिस्ट गरिसकेका छन् । उनले नयाँ सम्झौता गरे अर्को सिजनमा ७०० गोलको कोसेढुंगा पनि पूरा गर्नेछन् ।

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार १७:५४
Loading...