लेवान्डोस्की घाइते भएपछि रोनाल्डो र मेस्सीले गोल्डेन बुट जित्न सक्ने तीन आधार यस्ता छन्

काठमाडौं, चैत २०

अन्तर्राष्ट्रिय ब्रेक सकिएपछि आज रातिबाट युरोपियन टप–५ लिगमा क्लब फुटबल सुचारु हुँदैछ । शीर्ष पाँच लिगमध्ये अधिकांश लिगमा आज रातिबाटै खेल सुरु हुँदैछन् । सिजनको अन्त्यतिर पुग्र्दा गर्दा क्लब फुटबल फर्किएसँगै अबको रौनक विशेष हुनेवाला छ । किनभने, अन्तिमतिरका बाँकी खेलबाट क्लबहरू अब उपाधि जित्ने दाउमा छन् । लिग फुटबलसँगै च्याम्पियन्स लिग, युरोपा लिग र कप फुटबलका फाइनल खेलहरू पनि अबकोा समयमा हुने तालिका छ । अब धेरैको ध्यान च्याम्पियन्स लिगमा क्वार्टरफाइनलका खेल र पाँच लिगको उपाधि होडमा हुनेछ ।

यस्तैमा, क्लब फुटबल फर्किएसँगै युरोपियन गोल्डेन बुट दौडमा पनि अब धेरैको नजर रहनेछ । हालको अवस्थामा सर्वाधिक गोलकर्ताले पाउने यो अवार्डमा जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की नम्बर १ मा रहेका छन् । उनले हालसम्म लिगमा २५ खेलबाट ३५ गोल गरेर सबैभन्दा सिरानमा रहेका छन् । उनलाई सजिलै पछ्याउन कसलाई पनि सजिलै छैन, सामान्य अवस्थामा । तर, लेवान्डोस्की अहिले घाइते छन् । र, उनले अबका बाँकी अधिकांश खेल गुमाउने सम्भावना रहेकाले उनीसँगको गोल दूरी कम गर्ने अवसर अन्य खेलाडीलाई छ ।

फिफा विश्वकप छनौटमा दोस्रो खेल खेल्नेक्रममा चोट बोकेपछि पोलिस फरवार्ड तेस्रो खेल इंग्ल्यान्डसँग नखेली क्लब बार्यन फर्किएका थिए । बार्यन पुगेर चेकजाँच गरेपछि उनको पिडुलामा चोट परेको पुष्टि भएको छ । र, यसका कारण उनले कम्तीमा एक महिनासम्म मैदानबाहिर रहनुपर्ने क्लब बार्यनले नै पुष्टि गरिसकेको छ । यसको अर्थ गोल्डेन बुट दौडमा अब दोस्रो स्थानमा रहेका खेलाडीलाई पछ्याउने अवसर छ । तर, यो सजिलो छैन । तर, आधारमा भने प्रबल सम्भावना रहेको छ ।

अहिले लेवान्डोस्कीपछि दोस्रो स्थानमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी समान २३–२३ गोलका साथ रहेका छन् । रोनाल्डोले सिरी ए लिगमा २४ खेलबाट २३ गोल गरेका छन् भने मेस्सीले ला लिगामा २६ खेलबाट २३ गोल गरेका छन् । यही स्थितिमा रोनाल्डो र मेस्सी लेवान्डोस्कीभन्दा ठीक १२ गोलले पछि परेका छन्, यो निकै फराकिलो अन्तर हो । लिगमा अब धेरै खेल बाँकी नरहेकाले बाँकी खेलबाट यति गोल गर्न सजिलो छैन । तर, असम्भव पनि छैन ।

सिरी ए लिगमा युभेन्टसले अब ११ खेल र ला लिगामा बार्सिलोनाले १० खेल खेल्न बाँकी छ । यता, बुन्डेसलिगामा बार्यनले अब मात्रै ८ खेल खेल्न बाँकी छ । सिरी ए र ला लिगामा ३८ खेलको लिग हुन्छ भने बुन्डेसलिगामा मात्रै ३४ खेल हुन्छन् । यसरी हेर्दा अब तीन कारणले लेवान्डोस्कीलाई रोनाल्डो र मेस्सीले टक्कर दिन सक्छन् । पहिलो आधार– चोटका कारण लेवान्डोस्की एक महिना मैदानबाहिर बस्दा उनले बुन्डेसलिगाका बाँकी ८ मध्ये कम्तीमा ६ वटासम्म खेल गुमाउनेछन् । यदि उनी समयमै फिट नभए उनले यो सिजनका सबै खेल पनि गुमाउने सम्भावना छ । यसको फाइदा रोनाल्डो र मेस्सीले लिन सक्छन् । लेवान्डोस्की लगातार मैदानबाहिर रहँदा रोनाल्डो र मेस्सीले लगातार गोल गरेर हालको १२ गोलको दूरी घटाउन सक्छन् ।

दोस्रो आधार– माथि नै भनियो कि, बुन्डेसलिगामा ३४ खेल मात्रै हुन्छन् । तर, सिरी ए र ला लिगामा ३८ खेल हुन्छन् । बुन्डेसलिगा सिजन सकिएपछि पनि रोनाल्डो र मेस्सीले लिगमा ४–४ खेल खेल्न बाँकी नै हुनेछन् । यी ४ खेलबाट पनि रोनाल्डो र मेस्सीले थप गोल गरेर सर्वाधिक गोलकर्ता बन्ने राम्रो सुविधा छ । लेवान्डोस्की कम्तीमा ६ खेलसम्म बाहिर रहँदा र आफ्नो लिगमा ४ खेल बढी हुनुको फाइदा रोनाल्डो र मेस्सीले सजिलैसित उठाउन सक्ने सम्भावना प्रबल छ ।

तेस्रो आधार– युभेन्टस र बार्सिलोना दुवै यो च्याम्पियन्स लिगबाट आउट भइसकेका छन् । यसको अर्थ रोनाल्डो र मेस्सीमाथि अब च्याम्पियन्स लिगको दबाब र तनाव छैन । तब उनीहरूले आफ्नो सम्पूर्ण ध्यान अब घरेलु लिगमै लगाउनेछन् । उनीहरू दुवैको दाउ अब लिगमा धेरैभन्दा धेरै गोल गर्दै टिमलाई लिग च्याम्पियन बनाउनमा केन्द्रित हुनेछ । सँगै, सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जित्नु पनि हुनेछ । यसरी हेर्दा लेवान्डोस्की घाइते हुँदा मेस्सी र रोनाल्डोले १० वटासम्म बढी खेल्न सक्छन् । रोनाल्डो र मेस्सीजस्ता खेलाडीलाई १० खेलबाट १२–१५ गोल गर्नु ठूरा कुरा होइन पनि ।

यसरी लेवान्डोस्कीको चोटको फाइदा उठाउँदै मेस्सीले ला लिगामा धेरै गोल गरेर सातौं र रोनाल्डोले सिरी ए लिगमा धेरै गोल गरेर पाँचौं गोल्डेन बुट जित्ने सम्भावना व्यवहारिक र गणितीय दुवै हिसाबले सम्भव छ । फेरि पनि युरोपियन गोल्डेन बुटमा रोनाल्डो र मेस्सीबीच एकपटक प्रतिस्पर्धा देखिने भएको छ, यो उनीहरूलाई टक्कर दिने तेस्रो स्थानमा खेलाडी प्रतिस्पर्धामा नउत्रिँदासम्म मात्रै । हालकै स्थितिमा गोल्डेन बुटमा लेवान्डोस्की पहिलो र दोस्रोमा रोनाल्डो र मेस्सी मुख्य दाबेदार हुन् । लेवान्डोस्की घाइते भएसँगै अबका दाबेदार रोनाल्डो र मेस्सी हुनेछन् । त्यसपछि यी दुईलाई पछ्याइरहेका खेलाडी हुनेछन् । ताजा अवस्थामा टप गोलकर्ताको सूची यस्तो छ–:

  1. रोवर्ट लेवान्डोस्की – ३५ गोल (८ खेल बाँकी तर कम्तीमा ६ खेल गुमाउने सम्भावना)
  2. २क्रिस्टियानो रोनाल्डो – २३ गोल (११ खेल बाँकी)
  3. लिओनल मेस्सी – २३ गोल ( १० खेल बाँकी)
  4. अर्लिङ हल्यान्ड – २१ गोल (८ खेल बाँकी)
  5. आन्ड्रे सिल्भा – २१ गोल (८ खेल बाँकी)
  6. केलियन एमबाप्पे – २० गोल (८ खेल बाँकी)

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार १६:१९
Loading...