बार्सिलोना हिँडेको गाडीबाट अगुएरो उम्काउने दाउमा छन् यी दुई क्लब

एजेन्सी, चैत १८

यो सिजनको अन्त्यसँगै इंग्लिस क्लब म्यानचेस्टर छाड्ने निर्णय गरेका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोलाई स्पेनिस क्लब बार्सिलोना भित्र्याउने धेरै नजिक पुगेको चर्चा छ । ३२ वर्षका फरवार्डलाई कुनै पनि क्लबले निःशुल्क भित्र्याउन पाउँछन् । सिटीसँग सम्झौता सकिएकाले सिटीले यो सिजनपछि उनलाई चाहेको क्लबमा जान खुला गरेको हो । सिटीमा १० वर्ष बिताएका अगुएरोको नयाँ क्लब कहाँ होला भन्नेमा धेरैको चासो छ । उनलाई भित्र्याउने इच्छुक क्लब बार्सिलोना सबैभन्दा अगाडि देखिएको छ । त्यहाँका नयाँ अधयक्ष जोन लापोर्टा अनुभवी फरवार्डलाई अनुबन्ध गरेर कप्तान लिओनल मेस्सीसँग जोेडी मिलाउन चाहन्छन् ।

तर, अगुएरोको पछि बार्सिलोनासँगै अब इटालीका दुई बलिया क्लब पनि निस्किएका छन् । सिरी ए लिगको लिग लिडर इन्टर मिलान र युभेन्टसले पनि अगुएरो अनुबन्धका लागि प्रयास गर्ने भएका छन् । इटालियन मिडियाका अनुसार फ्री ट्रान्सफमा अगुएरो उपलब्ध हुने भएकाले यी दुवै क्लब त्यसको फाइदा लिन चाहन्छन् । ठूलो क्लबबाट खेलेको अनुभव र अझै पनि गोल गरेर टिमलाई योगदान दिन सक्ने भएकाले अगुएरोलाई यी दुवै क्लबले राम्रो विकल्प ठानेका हुन सक्छन् ।

तर, बार्सिलोनासँग यी दुवै क्लबले अगुएरोका लागि प्रतिस्पर्धा गर्न सजिलो छैन । पहिलो कुरा, अगुएरो स्वयं बार्सिलोनाका लागि खेल्न चाहन्छन् । किनभने, त्यहाँ राष्ट्रिय टिमका सहकर्मी लिओनल मेस्सी पनि छन् । अब यी दुई खेलाडीले देश र क्लबको टोलीमा पनि सँगै खेल्ने अवसर एकदमै नजिक आएको छ । अर्कातर्फ, बार्सिलोना पनि मेस्सीसँग अगुएरोको मिलन गराउन आतुर छ । खास गरी नयाँ अध्यक्ष लापोर्टा यो चाहन्छन् । उनी अहिले मेस्सीलाई फकाउन सबथोक गर्ने अवस्थामा देखिएका छन् ।

तर, प्रशिक्षक रोनाल्ड कोम्यानले भने आफ्नो प्राथमिकतामा फ्रेन्च क्लब लियोनका मेम्फिस डिपेलाई राखेका छन् । आफ्नै देशका भएकाले कोम्यान डिपेलाई चाहन्छन् । तर, क्लब मेस्सीलाई फकाउनका लागि पनि अगुएरोलाई चाहन्छ । यसकारण अगुएरोको नयाँ गन्तव्य अन्यत्र भन्दा पनि बार्सिलोना हुने सम्भावना ठूलो छ । तर, यो सजिलो पनि छैन । बार्सिलोनामा अगुएरोको बारेमा रहेको यही अन्योल बुझेका अन्य कलब अहिले उनलाई फुत्काउने कसरतमा लागेका हुन् ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार १८:४९
Loading...