लक्जेमवर्गविरुद्ध गरेको रोनाल्डोको १ गोलले बने चार महत्त्वपूर्ण तथ्यांक : हेरौं तथ्यांक

काठमाडौं, चैत १८

कतार विश्वकपका लागि जारी युरोपियन छनौट खेलअन्तर्गत गत राति पोर्चुगलले आफ्नो तेस्रो खेलमा लक्जेमवर्गलाई उसकै भूमिमा १–३ ले हरायो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटासहित ३ जना खेलाडीले गोल गरे । सो खेलमा रोनाल्डोले ५०औं मिनेटमा गरेको गोल यस संस्करणको फिफा विश्वकप छनौट यात्रामा पहिलो गोल हो । यसअपघि पोर्चुगलले पहिलो खेलमा अजरबैजान र दोस्रो खेलमा सर्बियाविरुद्ध खेल्दा दुवै खेलमा रोनाल्डो गोलविहीन बनेका थिए । सर्बियाविरुद्ध उनले खेलको अन्तिम मिनेटमा विजयी गोल गरे पनि रेफ्रीले त्यसलाई मान्यता नदिँदा उनको सो गोल लुटियो ।

तर, तेस्रो छनौट खेलमा उनले गोलको खडेरी टार्दै १ गोल गर्न सफल भए । गत रातिको गोलसँगै रोनाल्डोका नाममा एकसाथ चार महत्त्वपूर्ण तथ्यांक बनेका छन् । यहाँ त्यसबारे चर्चा गरिएको छ । पहिलो– युरोपियन छनौटमा ‘अल टाइम टप स्कोरर खेलाडी । विश्वकप र युरो कपसहित दुई ठूला प्रतियोगिताका लागि छनौट खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी रोनाल्डो बनेका छन् । उनले यी दुई ठूला प्रतियोगिताको छनौट चरणमा हालसम्म कूल ६२ गोल गरेका छन्, जुन सबैभन्दा धेरै हो ।

दोस्रो– इतिहासकै सर्वाधिक १०९ गोलको रेकर्डतर्फ एक कदम अगाडि । फुटबल इतिहासमै अन्तर्राष्ट्रिय फुबलमा सर्वाधिक गोलको रेकर्ड इरानका अली डेईमा नाममा छ । उनले अन्तर्राष्ट्रिय फुटबलमा कूल १०९ गोल गरेका छन् । गत रातिको गोलपछि रोनाल्डोको गोल संख्या १०३ पुगेको छ । रोनाल्डोलाई अब डेईको रेकर्ड बराबरी गर्न ६ गोल र भंग गरेर आफ्नो नाममा लेखाउन मात्रै ७ गोल आवश्यक छ । रोनाल्डोले अब यस वर्ष हुने युरो कपमा यो रेकर्ड भंग गर्ने सम्भावना छ । युरो कप सुरु हुनुअघि केही मैत्रीपूर्ण खेलहरू पनि हुनेछन् ।

तेस्रो– लगातार १८ वर्षसम्म अन्तर्राष्ट्रिय फुटबलमा गोल । रोनाल्डोले पोर्चुगलको सिनियर टोलीका लागि पहिलो गोल सन् २००४ मा गरेका थिए । त्यसयता उनले लगातार १८ वर्ष कम्तीमा १ गोल गरेका छन् । गत रातिको गोल उनका लागि वर्ष २०२१ को पहिलो अन्तर्राष्ट्रिय गोल थियो । उनले अन्तर्राष्ट्रिय फुटबलमा वर्षमा १ गोल पनि नगरेको कुनै वर्ष नै छैन । उनले सबैभन्दा धेरै गोल एकै वर्षमा १४ गोलसम्म पनि गरेका छन् । यस वर्ष उनले विश्वकप छनौट खेलबाट गोलको खाता खोल्न सफल भएका छन् ।

चौथो– फिफा विश्वकपमा युरोपियन क्षेत्रबाट सर्वाधिक गोलकर्ताको रेकर्ड बढ्दै । फिफा विश्वकप फुटबलमा युरोपियन महादेशबाट सर्वाधिक गोल गर्ने खलाडी पनि रोनाल्डो नै हुन् । उनले हालसम्म विश्वकपको छनौटमा कूल ३१ गोल गरेका छन् । यो युरोपबाटै सबैभन्दा धेरै र विश्वभरमा भने दोस्रो हो । समग्रमा धेरै गोल गर्ने खेलाडी ग्वाटेमालाका कार्लोस लुइज हुन् । उनले आफ्नो करिअर दौरान विश्वकप छनौटमा कूल ३९ गोल गरेका थिए । रोनाल्डो अब उनको सो रेकर्ड बराबरी गर्न ८ र भंग गर्नबाट मात्रै ९ गोलले टाढा छन् । उनले ४७ खेलबाट ३९ गोल गरेका थिए । रोनाल्डोले ४१ खेलबाट ३१ गोल गरेका छन् । सम्भावतः बाँकी ५ खेलबाट उनले यो रेकर्ड पनि भंग गर्न सक्नेछन् ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ११:१२
Loading...