कतार विश्वकप छनौट : बेलको प्रेरणामा चेकमाथि वेल्सको जित

काठमाडौं, चैत १८

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रमा जारी छनौट खेलअन्तर्गत आफ्नो दोस्रो खेलमा वेल्सले साँघुरो जित निकालेको छ । गत राति भएको खेलमा वेल्सले बलियो टोली चेक रिपब्लिकलाई १–० ले हरायो । आफ्नो घरेलु मैदानमा वेल्सलाई जिताउन ग्यारेथ बेलको प्रेरणादायी प्रदर्शन रह्यो । बेलले गोल नगरे पनि टिमलाई जिताउन खेलभरि नै उत्कृष्ट प्रदर्शन गरेर सघाएका थिए । आफ्नो घरमा चेकलाई हराउनका लागि वेल्सले विजयी गोलका लागि खेलको अन्तिम समयसम्म लड्नु परेको थियो ।

वेल्सले खेलको ८१औं मिनेटमा गोल गरेर अग्रता बनाएको थियो । ड्यानिएल जेम्सले बेलको पासमा गोल गरेका थिए । अन्ततः सोही गोल बचाएर वेल्सले खेल १–० ले खेल जित्यो । बेलले वेल्सका पछिल्ला ६ खेलमा कुनै गोल गर्न सकेका छैनन् । तर, उनले टिमका लागि पछिल्ला ६ खेलमध्ये ५ खेलमा असिस्ट गरेर सघाएका छन् । जसमध्ये उनले टिम कठिन अवस्थामा रहेका बेला टिमलाई बचाउन ४ निर्णायक गोलमा असिस्ट गरेका छन् ।

अब यो जितपछि समूह ‘ई’मा रहेको वेल्सले २ खेलबाट ३ अंक बनाएको छ । ऊ तेस्रो स्थानमा रहेको छ । ७ अंक भएको बेल्जियम शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । ३ अंक नै भएको बेलारुस भने चौथो स्थानमा रहेको छ । गत राति भएका कूल १० खेलको अन्तिम नतिजा तेल हेरौं–:

१. अजरबैजान १ – २ सर्बिया
२. साईप्रस १ – ० स्लाभेनिया
३. क्रोएसिया ३ – ० माल्टा
४. गीब्राल्टार ० – ७ नेदरल्यान्ड्स
५. लक्जेमवर्ग १ – ३ पोर्चुगल

६. वेल्स १ – ० चेक रिपब्लिक
७. मोन्टेनेग्रो ० – १ नर्वे
८. स्लोभाकिया २ – १ रसिया
९. बेल्जियम ८ – ० बेलारुस
१०. टर्की ३ – ३ लाटभिया

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०९:१३
Loading...