कतार विश्वकप छनौट : नर्वेको कठिन जित, हल्यान्डलाई लगातार गोलको खडेरी

काठमाडौं, चैत १८

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रमा जारी छनौट खेलअन्तर्गत आफ्नो तेस्रो खेलमा नर्वेले कठिन जित निकालेको छ । गत राति भएको खेलमा नर्वेले मोन्टेनेग्रोलाई उसकै घरेलु मैदानमा ०–१ अन्तरमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा नर्वेलाई जिताउन १ मात्रै विजयी गोल खेलको ३५औं मिनेटमा अलेक्जान्डर स्वरलोथले गरेका थिए । सोही गोलको मदतमा ०–१ को अग्रता बनाएको पाहुना टोलीले अन्ततः सोही अग्रता बचाएर खेल जित्यो ।

नर्वेका युवा स्टार अर्लिङ हल्यान्ड लगातार यस खेलमा पनि गोलविहीन बने । क्लब फुटबलमा उच्च लयमा रहेका रहेका २० वर्षका गोल मेसिन हल्यान्ड अहिले राष्ट्रिय टोलीमा भने लगातार गोलविहीन बनिरहेका छन् । विवकप छनौटका पछिल्ला ३ खेलमा उनले १ गोल पनि गर्न सकेनन् । त्यत्ति मात्रै हैन, गत रातिको खेल सहित उनले राष्ट्रिय टिमका पछिल्ला ६ गोलमा १ गोल पनि गर्न सकेका छैनन् । उनी लगातार गोलको खडेरीबाट गुज्रिरहेका छन् ।

हल्यान्डलाई अब राष्ट्रिय टोलीमा गोलको खडेरी टार्न लामो समय पर्खिनुपर्ने भएको छ । अब नर्वेले अन्तर्राष्ट्रिय खेल ६ महिनापछि मात्रै खेल्ने तालिका छ । उसले अर्को खेल अब विश्वकपको छनौटमै चौथो खेलका रूपमा आगामी सेप्टेम्बर २ तारिखमा नेदरल्यान्ड्सँग खेल्नेछ । हल्यान्डले राष्ट्रिय टोलीमा गोलको खडेरी टार्न अब त्यत्तिबेलासम्म पर्खिनुपर्ने भएको हो । यता, हल्यान्डले क्लब बोरुसिया डर्टमुन्डका लागि भने यो सिजन ३१ खेलबाट ३३ गोल गरिसकेका छन् । नर्वेका लागि उनले हालसम्म १० खेलबाट ६ गोल गरिसकेका छन् ।

गत रातिको साँघुरो जितपछि नर्वेले छनौट चरणमा सुरुआतका ३ खेलपछि ६ अंक बनाएको छ । उसले ३ मध्ये २ खेल जित्दा एक खेल हारेको छ । नर्वे रहेको समूह ‘जी’को शीर्ष स्थानमा टर्की ७ अंकका साथ रहेको छ । त्यसपछि नेदरल्यान्ड्स, मोन्टेनेग्रो र नर्वे समान ६–६ अंकका साथ क्रमशः दोस्रो, तेस्रो चौथो स्थानमा रहेका छन् । लाटभिया १ अंकसहित पाँचौंमा छ । छैटौं स्थानको गीब्राल्टार जितविहीन छ ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०८:३७
Loading...