कतार विश्वकप छनौट : बेल्जियमको युवा टोलीद्वारा ८ गोलको वर्षा !

काठमाडौं, चैत १८

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रमा जारी छनौट खेलअन्तर्गत आफ्नो तेस्रो खेलमा बेल्जियमले फराकिलो जित निकालेको छ । उसले तेस्रो खेलमा बेलारुसमाथि ८–० अन्तरको एकपक्षीय र फराकिलो जित निकालेको हो । बेलारुसको पोस्टमा ८ गोल बर्साउँदा २ जना खेलाडीले २–२ गोल गरे भने ४ जनाले १–१ गोल गरे । बेल्जियमले खेलको १४औं मिनेटदेखि गोल गर्न थालेर ८९औं मिनेटसम्म लगातार गोल गरेको थियो ।

तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध खेल्न प्रशिक्षकले धेरैजसो दोस्रो रोजाइका नयाँ खेलाडीलाई मौका दिएका थिए । सिनियर टोलीका केही प्रमुख खेलाडीलाई आराम दिइएको थियो भने खेल दौरान प्रमुख गोलकिपर थिबाउट कोर्टुवा पनि घाइते भए । बेल्जियमका लागि पहिलो गोल खेलेका १४औं मिनेटमा मिकी बात्सुयीले गरेका थिएका थिए । त्यसको ३ मिनेटमै हान्स भानकेनले गोल गरे । त्यसपछि ३८औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरे भने ४२औं मिनेटमा जेर्मे डोकुले गोल गरेर पहिलो हाफमा ४–० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि बेल्जियमले गोलको वर्ष गर्न छाडेन । दोस्रो हाफ सुरु भएको ४ मिनेटमै डेनिस प्राटले गोल गरे भने अर्को गोल ७०औं मिनेटमा क्रिस्टिएन बेन्टेकेले गोल गरे । त्यसपछि खेलको ७५औं मिनटमा लियान्द्रो ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गरेर खेल ७–० बनाए । त्यसपछि अन्तिम खेल ८९औं मिनेटमा हान्स भानाकेनले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बेल्जियमले ८–० ले जित्यो । अब यो जितपछि बेल्जियमको खातामा ३ खेलपछि ७ अंक भएको छ । ऊ समूह ‘ई’को शीर्ष स्थानमा छ । दोस्रो स्थानको चेक रिपब्लिकको खातामा ४ अंक छ ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०७:१४
Loading...