बार्सिलोनाको ९ नम्बरमा डिपे कि अगुएरो ? : यस्तो छ दुवै खेलाडीको सम्भावना र कारण

एजेन्सी, चैत १७

स्पेनिस फुटबल क्लब बार्सिलोनाले आगामी समर सिजनमा फरवार्ड लाइनमा २ जनासम्म खेलाडी अनुबन्ध गर्न चाहेको छ । त्यसमध्ये एक स्थानका लागि २ जनाको नाम चर्चामा छ । एकजना फ्रेन्च क्लब लियोनका मेम्फिस डिपे र दोस्रो हिजो मात्रै इंग्लिस क्लब म्यानचेस्टर सिटी छाड्ने घोषणा गरेका सर्जियो अगुएरो छन् । यी दुवै खेलाडीको सम्झौता आ–आफ्नो क्लबसँग यस सिजनको अन्त्यसँगै सकिँदैछ । र, दुवैजना आगामी समर ट्रान्सफरमा सरुवा बजारमा उपलब्ध छन् । अहिले दुवै खेलाडीको नाम सरुवा बजारमा चर्चामा रहेको छ ।

अर्जेन्टिनाका अगुएरोले १० वर्षपछि सिटी छाडेर स्पेनिस ला लिगा फर्किन चाहेको चर्चा छ । उनका लागि बार्सिलोना विकल्पमा छ भने पूर्वक्लब एथ्लेटिको मड्रिड पनि खुला हुन सक्छ । उनी हाल ३२ वर्षका छन् । यता, लियोनसँग यो सिजनको अन्त्यसँगै सम्झौता सकिँदै गरेका नेदरल्यान्ड्सका डिपेको नाम गत समर सिजनबाटै बार्सिलोनासँग जोडिँदै आएको छ । उनी हाल २७ वर्षका छन् । यी दुवै खेलाडीको सम्झौता सकिने भएकाले उनीहरूलाई भित्र्याउने क्लबले एक रुपैयाँ पनि तिर्नु पर्दैन ।

रोचक कुरा त यो छ कि, यी दुवै खेलाडीको नाम बार्सिलोनासँग जोडिएको छ । तर, यी दुईमध्ये कसलाई अनुबन्ध गर्ने भन्नेमा प्रशिक्षक रोनाल्ड कोम्यान र क्लबका नयाँ अध्यक्ष जोन लापोर्टाबीच मत नमिल्ने पक्का छ । किनभने, प्रशिक्षक कोम्यानले गत वर्षबाटै डिपेलाई आफ्नो चाहना र रोजाइमा राखेका छन् । कोम्यान बार्सिलोनाको प्रशिक्षक बन्नुअघि नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा छँदा उनले डिपेलाई प्रशिक्षण दिन्थे । र, दुवै जना एकै देशका हुन् । अझै पनि कोम्यान डिपे नै भित्र्याउनुपर्ने अडानमा छन् । उनी बार्सिलोनामा लुइस स्वारेजको स्थानमा डिपेलाई ल्याउन चाहन्छन् ।

तर, क्लबका नयाँ अध्यक्ष भने डिपेभन्दा अर्जेन्टिनाका अगुएरोको पक्षमा उभिएका छन् । यसको पछि खास कारण छ । उमेरले डिपेभन्दा अगुएरो ५ वर्ष जेठा भए पनि डिपे मेस्सीलाई खुसी पार्न भए पनि उनैलाई भित्र्याउन चाहन्छन् । मेस्सी र अगुएरो दुवै अर्जेन्टिनाका हुन् । र, उनीहरूबीच व्यक्तिगत सम्बन्ध धेरै राम्रो छ । राष्ट्रिय टोलीमा पनि उनीहरूले सँगै खेल्छन् । बार्सिलोनामा अगुएरो आउँदा मेस्सी खुसी हुने नयाँ अध्यक्ष र बोर्डको बुझाइ छ । र, मेस्सी पनि डिपेभन्दा अगुएरोलाई नै चाहन्छन् भन्नेमा दुईमत छैन ।

स्पेनिस मिडियाका रिपोर्टअनुसार कोम्यानको योजना र रणनीतिसँग मेस्सी सन्तुष्ट भए पनि नयाँ खेलाडी अनुबन्ध गर्ने विषयमा सहमत छैनन् । खास गरी पूर्वखेलाडी लुइस स्वारेजको स्थानमा लियोनका डिपे ल्याउने कुरामा मेस्सी पटक्कै सकारात्मक छैनन् । यो बुझेका नयाँ अध्यक्षले आफ्नो योजना परिवर्तन गर्न र अगुएरोलाई योजनामा राख्न कोम्यानसँग छलफल गरिरहेका छन् । क्लब छाड्ने अवस्थामा रहेका मेस्सीलाई खुसी पार्न र मेस्सीलाई समेत फाइदा पुग्ने गरी नयाँ अध्यक्ष जोन लापोर्टा अगुएरोका लागि निर्णय लिन तयार छन् । तर, प्रशिक्षक कोम्यान भने अझै पनि डिपेकै पक्षमा उत्रिँदा बार्सिलोनाले यी दुईमध्ये कसलाई अनुबन्ध गर्छ भन्नेमा चासो बढेको छ ।

उमेरका हिसाबले अगुएरो डिपेभन्दा जेठा भए पनि गोल गर्ने मामिलामा भने अगुएरो नै अगाडि छन् । उनले सिटीमा पछिल्ला तीन सिजनमा ९२ खेलबाट ५८ गोल गरेका छन । सोही अवधिमा उनले अर्जेन्टिनाका लागि १७ खेलबाट ८ गोल गरेका छन् । यता, नेदरल्यान्ड्सका लागि डिपेले सोही अवधिमा १०० खेलबाट ४२ गोल गरेका छन् । उनले सोही अवधिमा डच टोलीका लागि १६ खेलबाट ८ गोल गरेका छन् ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार १८:२७
Loading...