घरेलु मैदानमा कप्तानी र उपाधिका साथ विराजको सन्यास : यस्तो रह्यो उनको यात्रा

काठमाडौं, चैत १७

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनलाई अब फेरि राष्ट्रिय टोलीको जर्सीमा कहिल्यै पनि मैदानमा देख्न पाइनेछैन । किनभने, उनले हिजो मात्रै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षको उमेरमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । त्रिदेशीय नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेल जित्दै विराजले उपाधिसहित सुखद् क्षणका साथ फुटबलबाट बिदा लिए । तर, उनलाई क्लब फुटबलमा भने अझै देख्न पाइनेछ । विराजको राष्ट्रिय टोलीको सन्यास विभिन्न कारणले निकै सुखद् रह्यो । आफ्नो अन्तिम खेलमा उनले देशको कप्तानी गर्दै राष्ट्रिय जर्सीमा च्याम्पियन बने । र, आफ्नो सन्यासलाई स्मरणीय बनाए ।

विराजको सन्यास अर्को पक्षमा पनि विशेष रह्यो । त्यो के भने– घरेलु रंगशाला र घरेलु दर्शकको साथ–माया । नेसन्स कपका सबै खेल देशको मुख्य रंगशाला काठमाडौंस्थिति दशरथ रंगशालामा भयो । फाइनल खेल पनि त्यहीं भयो । कोरोना भाइरसको महामारी र रंगशाला पुनर्निर्माणको कामले घरेलु रंगशालामा वर्षौंपछि फुटबल फर्किएको थियो, त्यो पनि दर्शकको साथमा । नेसन्स कपको फाइनलमा नेपाल र बंगललादेश खेल्दा नेपालले घरेलु दर्शकलाई साक्षी राखेर २–१ को जितका साथ उपाधि जित्यो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जित्दा यो निकै स्मरणीय रह्यो ।

कप्तान विराजका लागि यो झनै विशेष भयो । बंगलादेशविरुद्धको खेलमा अन्तिम केही समय खेलेका उनले देशका लागि अन्तिम खेल कप्तानकै भूमिकामा खेले । उनले देशको राष्ट्रिय जर्सीमा अन्तिमपटक खेल खेलेको खेलमा नेपाल च्याम्पियन बन्यो । देशका लागि अन्तिम खेलबाट उपाधि जित्दै सन्यास लिँदा विराजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानमा ब्लेजर (कालो कोट) लगाएदिए । विशेष उपहार प्रदान गरे । अनि, सहकर्मीले काँधमा बोकेर रंगशाला वरिपरि घुमाए । विराजले रंगशालामा उपस्थित हजारौं घरेलु दर्शकमाझ खुसीका आँसु झार्दै राष्ट्रिय टोलीबाट बिदाइका हात हल्लाए ।

देशका लागि खेलेको करिअरको अन्तिम खेलमा विराजलाई ८९औं मिनेटमा त्रिदेव गुरुङका स्थानमा मैदान छिराइएको थियो । उनले अन्तिम खेलमा कूल ६ मिनेट बिताए । उनी नेसन्स कप खेल्ने टोलीमा पर्दा २१ महिनापछि राष्ट्रिय टोलीमा कमब्याक गरेका थिए । उनले बंगलादेशविरुद्धको फाइनल खेल खेल्दै सन्यास लिने पहिल्यै तयारी गरेका थिए । सोही अनुसार उनले सन्यास पनि लिए । घरेलु मैदान र घरेलु दर्शक, फाइनल खेल र देशका लागि उपाधि । अन्तिम खेलमा टोलीको कप्तान पनि । यी कुराले विराजको सन्यास अवश्य पनि निकै स्मरणीय रहनेछ ।

निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा मैदान छिर्दा कप्तानको आर्मब्यान्ड गोलकिपर किरणकुमार चेम्जोङसँग थियो । तर, पूर्वतयारी अनुसारै जब विराज मैदान छिरे, किरणले रोहित चन्दलाई भनेर कप्तानको आर्मब्यान्ड लगेर विराजलाई लगाइदिए । अनि मात्रै विराज त्रिदेवको स्थानमा मैदान छिरे । सो खेलको आधिकारिक कप्तान किरण भए पनि विराजको अन्तिम खेलको सम्मानमा उनलाई कप्तानी दिइयो । कप्तान किरणले खेलअघि नै विराजलाई उपाधिसहित बिदाइ गर्ने बाचा गरेका थिए । विराजले मैदान छिर्नुअघि दर्शकदीर्घातिर फर्किएर सबैलाई अभिवादन गर्दै हात हल्लाए । आफ्नो सोही खेल अन्तिम हुने सन्देश उनले सबैलाई दिए । उनको मैदान प्रवेशले दर्शकदीर्घामा खुसी र पीडा दुवै थियो । किनभने, उनी आफ्ना प्यारा दर्शकलाई साक्षी राखेर देशका लागि अन्तिम खेल खेल्दै थिए ।

खेल र कथा हेर्दा नेसन्स कप विराजकै सन्यासका लागि रचिएजस्तो थियो । नेपाल लिग चरणका दुई खेलमा गोल नगरी फाइनल पुग्नु । अनि फाइनलमा २ गोल गरेर च्याम्पियन बन्नु । सोही सुरुआती २ खेलमा खेल्न नपाएका विराजले फाइनल खेलबाट सन्यास लिनु । खेलपछि विराजले भनेको एक वाक्यले पनि यसलाई पुष्टि गर्छ । ‘मेरो करिअरमा धेरै उतारचढाव आए । तर, आजबाट मेरो फुटबल पूरा भएको छ,’ विराजले भने , ‘मेरो लागि यो महत्त्वपूर्ण खेल थियो । मैले यो ठाउँसम्म आउने सोचेको थिएन । नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको छ । यो क्षण म बिर्सन सक्दिनँ ।’

जब रेफ्रीले खेल सकिएको सिठ्ठी फुके, नेपाल च्याम्पियन बनेको टुंगो लाग्यो । तब बेन्चमा बसेका सबै नेपाली खेलाडी र अफिसियल मैदान प्रवेश गरेर खुसीयाली मनाउन थाले सहकर्मीले विराजलाई पालैपालो काँधमा बोकेर रंगशाला वरिपरि घुमाउँदा विराज आफ्ना दर्शकसँग बिदा माग्दै थिए । पटक–पटक उनका आँखाबाट खुसीका आँसु झरे । बिदाइको क्षणमा उनले आफ्ना आँसु रोक्न सकेनन् । विराजलाई काँधमा बोकेर रंगशाला वरिपरि घुमाइरँदा दर्शकले उनको सम्मानमा ताली बजाइरहेका थिए । त्यही भएर पनि होला– विराज सोक्रममा पटक–पटक भावुक बने । काँधमा राष्ट्रिय झण्डा भिरेर दर्शकसँग बिदा माग्दै रंगशाला घुमेको त्यो त्यो दृश्य निकै प्रिय थियो ।

करिअरमा अद्भुत सफलता पाएका वा विश्वका सर्वाधिक सफल कहलिएका खेलाडीले पनि आफ्नो करिअरको अन्तिम खेल जित्न सक्दैन् । उपाधि जित्ने कुरा त विरलै मात्र होला । तर, विराज त्यस्तै खेलाडी बने । उनले त करिअरको अन्तिम खेल आफ्नो भूमिमा आफ्ना दर्शकमाझ खेल्दै उपाधि समेत जितेर सन्यास लिने सौभाग्य पाए । विराजका लागि योभन्दा मिठो र स्मरणीय कुरा अरू के नै हुन सक्छ र ! यो कुरा त उनले खेलपछि पनि बताएका थिए । बिदाइमा देशका प्रधानमन्त्रीको उपस्थिति र सम्मानले उनको बिदाइ झनै मिठो सुन्दर अवश्य बन्यो ।

विराजको बिदाइको अन्तिम विन्दु प्रधानमन्त्री ओलीले मञ्चमा लगाएको ब्लेजर थियो । प्रधानमन्त्रीले ब्लेर लगाइदिएपछि विराजको अन्तर्राष्ट्रिय फुटबल करिअर औपचारिक रूपमा अन्त्य भएको थियो । निकै शालीन र मेहनती खेलाडी विराज दुवै खुट्टाले खेल्न सक्ने खेलाडी हुन् । उनी निकै अनुशासित खेलाडीमा पर्थे । विगतमा पटक–पटक राष्ट्रिका टोलीका कप्तानी गरेका उनलाई अब देशको जर्सीमा पुनः मैदानमा देख्न पाइनेछैन । यद्यपि, उनी नेपाली फुटबलबाट टाढा भने पक्कै जानेछैनन् । उनी फरक भूमिकामा फुटबलमै रहने कुरा उनैले बताएका छन् ।

विराजले राष्ट्रिय टोलीमा सन् २००८ मा डेब्यु गरेका थिए । पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत् उनले पहिलोपटक देशको सिनियर टोलीको जर्सी लगाएका थिए । त्यसयता उनले देशका लागि कूल ७३ खेल खेल खेल्दै १ गोल गरेका छन् । उनको पालामा नेपालले तीन महत्त्वपूर्ण उपाधि जित्दा तीनपटक नै कप्तान रहेका विराजका लागि हिजो जितेको नेसन्स कपको उपाधि भने देशको जर्सीमा अन्तिम उपाधि थियो । उनले घरेलु लिगमा पनि तीनपटक उपाधि जितेका छन् ।

आज नेपाली फुटबलको इतिहासमा विराज सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । यस्तो रेकर्ड राख्दै उनले सन्यास लिनु सुखद् कुरा हो । यसर्थमा उनलाई नेपाली फुटबलप्रेमीले सधैं याद गर्नेछन् । उनले देशका लागि कूल ७३ खेल खेल्दा जम्मा १८ खेलमा टोलीको कप्तानी गरेका छन् । अन्तर्राष्ट्रिय उपाधि समेत जितेका आधारमा विराजलाई नेपालका सर्वाधिक सफल कप्तान भनेर पनि चिनिन्छ । नेपालले यसअघि बंगबन्धु गोल्डकप र १२औं साग जित्दा पनि विराज नै टोलीका कप्तान थिए । नेपाल एएफसी सोलिडारिटी कपको च्याम्पियन बन्दा पनि विराज कप्तान थिए । त्यसबेला अनिल गुरुङ कप्तान भए पनि धेरैजसो खेलमा विराजले नै कप्तानी गरे ।

विराजले नेपालको राष्ट्रिय टिमका लागि १ गोल गरेका छन् । सन् २००९ मा दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज कप छनौटमा विराजले किर्गिस्तानविरुद्ध खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । ८६औं मिनेटमा किर्गिस्तानले पेनाल्टीमार्फत् बराबरी गोल फर्काएको थियो । विराजले घरेलु फुटबलमा थ्री स्टार, मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबबाट खेल्दै सहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेका छन् । वि.सं. २०५७ सालमा एन्फा एकेडेमीमा जोडिएका विराज त्यसयता विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म पुगेका खलाडी हुन् । उनले तीन क्लबबाट लिग जित्नुअघि संकटा र एनआरटी क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए । विराजको करिअरको संक्षिप्त चर्चा तल हेरौं–

नाम– विराज महर्जन
वर्ष – ३१
राष्ट्रिय टिममा खेल – ७३
कप्तानी गरेको खेल – १८
राष्ट्रिय टिममा डेब्यु – सन् २००८ मा पाकिस्तान, पोखरा
रेकर्ड – नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी

अन्तर्राष्ट्रिय उपाधि:
– बंगबन्धु कप, २०१६)
– १२औं साग, २०१६
– सोलिडारिटी कप, २०१६
राष्ट्रिय उपाधि:
सहीद स्मारक ए डिभिजन लिग (थ्री स्टार, मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लब)

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार १२:४५
Loading...