अगुएरोले १० वर्षपछि म्यानचेस्टर सिटी छाड्ने क्लबद्वारा पुष्टि

एजेन्सी, चैत १७

इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार फरवार्ड सर्जियो अगुएरोले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । अर्जेन्टिनाका ३२ वर्षीय फरवार्डले १० वर्ष क्लबमा बिताएपछि क्लब छाड्न लागेका हुन् । क्लब सिटीले अफिसियल रूपमा अगुएरोले समरमा क्लब छाड्ने पुष्टि गरेको छ । सिटीले १० वर्षसम्म क्लबमा रहेर गरेको योगदानका लागि आभार व्यक्त गर्दै अगुएरोको नयाँ भविष्यका लागि समेत शुभकामना दिएको छ । साथै, सिटीले अगुएरो क्लब इतिहासमा एक लिजेन्ड खेलाडीका रूपमा सधैं रहने पनि बताएको छन् । सिटीसँग अगुएरोको सम्झौता यो सिजनभरिका लागि मात्रै थियो । क्लब र उनीबीच नयाँ सम्झौता नहुने भएपछि अगुएरोले यो सिजन सकिएसँगै अब फ्री ट्रान्सफरमा आफूले चाहेको क्लबका जान पाउनेछन् ।

अगुएरो सन् सन् २०११ समा स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट सिटीमा अनुबन्ध भएका थिए । सिजन २०११–१२ बाट सिटीबाट खेल्न थालेका उनका लागि सिजन २०२०–२१ अन्तिम सिजन हुने भएको हो । यस दौरान अगुएरोले सिटीका लागि सबैखाले प्रतियोगिताबाट कूल ३८४ खेल खेल्दै २५७ गोल गरेका छन् । उनी क्लबको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी हुन् भने इंग्ल्यान्डभन्दा बाहिरबाट आएर प्रिमियर लिग इतिहासमै सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी पनि हुन् ।

अगुएरोले प्रिमियर लिगमा कूल २७१ खेल खेल्दै १८१ गोल र ४६ गोलमा असिस्ट गरेका छन् । सिटीबाट च्याम्पियन्स लिगमा ६७ खेल खेल्दै ४३ गोल गरेका छन् । अगुएरो प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने कीर्तिमानी खेलाडी पहिन हुन् । उनले सिटीबाट चार प्रिमियर लिगसहित कूल १३ उपाधि जितेका छन् । अगुएरोले सिटीबाट च्याम्पियन्स भने जित्न सकेनन् । अगुएरोले अब नयाँ सिजन कुन क्लबाट खेल्नछन् भन्नेमा चासो बढेको छ ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ०९:२१
Loading...