थ्री नेसन्स कप : आज नेपाल बंगलादेशसँग भिड्दै, अंक जोड्दै फाइनल पुग्ने लक्ष्य

काठमाडौं, चैत १४

नेपालमा जारी थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक देश नेपालले आज आफ्नो दोस्रो तथा अन्तिम लिग खेल बंगलादेशसँग खेल्दै छ । यसअघि नेपाल किर्गिस्तानको यु–२३ टोलीसँग पहिलो खेलमा गोलरहित ०–० मा रोकिएको थियो । रोबिन राउन्ड आधारमा हुने खेलमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । यसअघि नै बंगलादेश पहिलो खेल जितेर फाइनल पुगिसकेको छ । तसर्थ, नेपाल आज त्यही बंगलादेशलाई हराएर वा बराबरीमा रोकेर फाइनल पुग्ने दाउमा छ । नेपालका लागि आज लिगको अन्तिम खेल हो ।

फाइनल प्रवेशका लागि नेपालले आज नहारी बराबरी गरे मात्र पनि काफी हुन्छ । किनभने, यसअघि बंगलादेशसँग हारेको कीर्गिस्तानको खातामा मात्रै १ अंक छ, जुन उसले नेपालसँग बराबरी गरेर जोडेको हो । तसर्थ नेपालले आज बंगलादेशसँग मात्रै १ अंक जोडे पनि फाइनल पुग्न काफी हुन्छ । कीर्तिगस्तानले २ वटै खेल खेलिसकेको छ । यदि नेपाल फराकिलो अन्तरमा पराजित भयो भने चाहिँ किर्गिस्तानको भाग्य खुल्नेछ । सोमबार हुने उपाधि भिडन्तमा स्थान तय गर्न नेपाल आज आफ्नो भूमिमा हार्नु हुँदैन ।

आज नेपाल र बंगगलादेशबीच हुने खेलले अन्तर्राष्ट्रिय खेलको मान्तयता पनि पाउनेछ । किर्गिस्तानले यु–२३ ओलम्पिक टिम खेलाएकाले ऊसँगका खेलले अन्तर्राष्ट्रिय मान्यता पाउँदैन । यस प्रतियोगितामा बंगलादेश र नेपालले भने सिनियर टोली खेलाइरहेका छन् । यसअघि किर्गिस्तानसँग अट्याकिङ लाइन फितलो हुँदा स्कोर गर्न नसकेको नेपालले आज त्यसलाई सुधारेर खेल्नुपर्ने दबाब छ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समयअनुसार साँझ ठीक ५ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १४ चैत्र २०७७, शनिबार १२:५९
Loading...