बार्सिलोनालाई जिल्याउने दाउ : हल्यान्ड भित्र्याउन रियल सक्रिय

एजेन्सी, चैत ११

स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्डलाई आगामी समर सिजनमा अनुबन्ध गर्नका लागि सक्रिय थालेको छ । स्पेनिस पत्रिका ‘मार्का’ अका अनुसार नर्वेका २० वर्षीय युवा गोल मेसिन खेलाडी भित्र्याउनका लागि रियलले छलफल अघि बढाएको हो । रियलले समरमा हल्यान्डलाई प्राथमिकतामा राखेको छ । रिपोर्ट अनुसार रियलका अधिकारी र हल्यान्डका एजेन्ट मिनो राइओलाबीच यसै साता पहिलो चरणको छलफल भएको छ ।

हल्यान्ड भित्र्याउन स्पेनकै क्लब बार्सिलोना पनि गम्भीर रूपमा लागेको छ । तर, पछिल्ला वर्ष नयाँ खेलाडीका लागि मोटो बजेट खर्च गरेको बार्सिलोनाका लागि यो समयका एक महँगा खेलाडी भित्र्याउन सजिलो छैन । बार्सिलोनाको सोही अवस्था बुझेको रियलले हल्यान्डलाई अनुबन्ध गर्न सकिने सम्भावना बुझ्न छलफलमा लागेको हो । केही समयअघि डर्टमुन्डका खेल निर्देशकले भने हल्यान्डका लागि २५० मिलियन युरोससम्मको प्रस्तावमा छलफल हुन सक्ने बताएका थिए ।

तर, सरुवा बजारमा अहिले हल्यान्डको मार्केट भ्यालु भने ११० मिलियन युरो मात्रै छ । उनलाई डर्टमुन्डले गत समर सिजनमा निकै कम मूल्यमा अनुबन्ध गरेको थियो । तर, यो समयका सबैभन्दा खतरनाक गोल मेसिन खेलाडी भित्र्याउन युरोपमा अधिकांश ठूला क्लबले चासो देखाइरहेका छन् । त्यसमा विशष्ो गरी रियल र बार्सिलोना लागेका छन् । तर, कोरोना भाइरसका कारण बढ्दो आर्थिक संकटबीच यी दुवै क्लबलाई यो समयका महँगा खेलाडी भित्र्याउन सजिलो भने छैन । बार्सिलोनाका नयाँ अध्यक्षले भने ऋण काडेर भए पनि हल्यान्ड भित्र्याउने बताउँदै आएका छन् ।

‘मार्का’का अनुसार हल्यान्ड रियल मड्रिडका लागि खेल्न चाहन्छन् भन्नेमा रियल विश्वस्त छ । र, आफूहरूलाई हल्यान्ड अनुबन्ध अन्यलाई भन्दा सजिलो रहेको बुझाइ रियलको रहेको देखिन्छ । रिपोर्टमा भनिएको छ– ‘अर्लिङ हल्यान्डमाथि रियल मड्रिडले सही समयमा चासो बढाएको छ । यस साता क्लबका अधिकारी र खेलाडीका एजेन्टबीच पहिलो छलफल भयो । सम्भवतः त्यो छलफलले दुवै पक्षको मनसाय स्पष्ट भयो । यदि यी दुई पक्षबीच पुनः दोस्रो छफल भयो भने हल्यान्डले नयाँ सिजनमा सेतो जर्सी लगाउनेछन् ।’

प्रकाशित मिति ११ चैत्र २०७७, बुधबार २१:४२
Loading...