कतार विश्वकप छनौट खेल : आज राति यस्तो हुनेछ पहिलो खेलमा पोर्चुगलको प्लेइङ–११

काठमाडौं, चैत ११

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि आज रातिबाट सुरु हुन लागेको छनौट खेलअन्तर्गत युरोपियन देश पोर्चुगलले आफ्नो पहिलो खेल अजरबैजानसँग खेल्दै छ । छनौट यात्रामा पोर्चुगलले पहिलो खेलका लागि तुलनात्मक रूपमा कमजोर टोली अजरबैजानविरुद्ध उत्रिँदा सुरुआती टोली कस्तो उतार्ला ? यसबारे चर्चा गरिएको छ । प्रमुख प्रशिक्षक फर्नान्डो सान्तोषले आजको पहिलो खेलमा मुख्य खेलाडी सहितको टोली उतार्ने पक्का छ । पहिलो खेलमा सकेसम्म राम्रो नतिजा निकाल्नका लागि उनले टोली छनौटमा सम्झौता गर्नेछैनन् ।

यी छनौट खेल खेल्दा पोर्चुगलका पहिलो रोजाइका गोलकिपर रुई प्याट्रिसियो टोलीमा छैनन् । अघिल्लो सता प्रिमियर लिगमा लिभरपुल र उल्भ्सको खेल दौरान उनले टाउकोमा चोट बोकेका थिए । आज दोस्रो रोजाइका गोलकिपर लोपेजले राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्नेछन् । यसबाहेक आज कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नान्डो सिल्भा, पेपे, डिएगो जोटा, ब्रुनो फर्नान्डेज सहितका मुख्य खेलाडी टोलीमा हुने पक्का छ । युवा स्टार जुआओ फेलिक्स पनि टोलीमा उपलब्ध छन् ।

प्रशिक्षक फर्नान्डो सान्तोषले आज अजरबैजानविरुद्ध १–४–२–३–१ को फर्मेसनमा टोली उतार्ने सम्भावना छ । पोर्चुगलले यसअघिका केही खेलमा भने १–४–३–३ को फर्मेसनमा पनि खेलिसकेको छ । आज फ्रन्ट लाइनमा कप्तान रोनाल्डो हुनेछन् भने उनीपछि मिडफिल्डमा जोटा, फर्नान्डेज र सिल्भाको तुफानी मिडफिल्डले साथ दिनेछ । हालको अवस्थामा पोर्चुगिज टोलीको मिडफिल्डमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्ने सिल्भा, म्यानचेस्टर युनाइटेडबाट खेल्ने फर्नान्डेज र लिभरपुलबाट खेल्ने जोटाको सेटलाई पहिलो राजाइ मानिएको छ ।

विश्वकप छनौट खेल होम एन्ड अवे मैदानको अवधारणामा हुने भए पनि कोरोना भाइरसको असर र कोरोना प्रोटोकलका कारण धेरै खेल अहिले न्यूट्रन भेन्युमा हुँदैछन् । त्यसैअनुसार पोर्चुगल र अजरबैजानको खेल इटालीमा हुँदैछ । इटालियन क्लब युभेन्टसको घरेलु मैदान युभेन्टस रंगशालामा पोर्चुगल र अजरबैजान भिड्नेछन् । यो खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । यस्तो हुनेछ पोर्चुगलको सम्भावित प्लेइङ–११:

गोलकिपर – लोपेज
डिफेन्डर – राफाएल गुरेरियो, रुबेन डियाज, पेपे, जुआन कान्सेलो
मिडफिल्डर – ड्यानिलो, नेभेस, ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भा
फरवार्ड – रोनाल्डो, डिएगो जोटा

प्रकाशित मिति ११ चैत्र २०७७, बुधबार १७:१९
Loading...