‘बार्सिलोनाले अब नेइमारलाई कहिल्यै फर्काउँदैन’

एजेन्सी, चैत ९

ब्राजिलियन स्टार नेइमारलाई स्पेनिस क्लब बार्सिलोनाले अब कहिल्यै पनि दोस्रोपटक अनुबन्ध नगर्ने बार्सिलोनाका पूर्वअधिकारी इरिक अबिडालले बताएका छन् । अघिल्ला अध्यक्ष जोसेप मारिया बार्टोमेउको कार्यकालमा खेलकुद निर्देशक रहेका उनले नेइमार अब कहिल्यै बार्सिलोनाको योजनामा नपर्ने दाबी गरेका हुन् । अबिडाल बार्सिलोनाका पूर्वखेलाडी समेत हुन् । नेइमारले सन् २०१७ मा विश्वकीर्तमानी २२२ मिलियन युरोमा पिएसजी जान अप्रत्यासित रूपमा बार्सिलोना छाडेका थिए । तर, अझै पनि नेइमार बार्सिलोना फर्किन सक्ने सम्भावनाबारे छलफलहरू हुने गर्छन् ।

गत समर सिजनमा नेइमारलाई बार्सिलोनाले फर्काउन प्रयास गरे पनि पिएसजी नमानेपछि सम्भावित सरुवा भएन । तर, बार्सिलोनाको बोर्डमा नयाँ नेतृत्व आएपछि र क्लबमा बदलिँदो स्थितिका कारण अब पुनः बार्सिलोनाले नेइमारलाई कहिल्यै नफर्काउने दाबी अबिडालले गरेका छन् । उनका अनुसार एन्टोनी ग्रीजम्यानको अनुबन्ध नेइमार फिर्तीको मुख्य बाधा हो । ‘यदि बार्सिलोनाले एन्टोनी ग्रीजम्यानलाई अनुबन्ध गरेको थिएन भने नेइमार केही कुरा छाडेर भए पनि बार्सिलोना फर्किन्थे । तर, ग्रीजम्यान आएपछि नेइमार पुनः क्याम्प नोउ फर्किने सम्भावना अन्त्य भएको हो,’ अबिडालले भने ।

अबिडालले आफू खेल निर्देशक हुँदा नेइमारको बारेमा गम्भीर ढंगले पिएसजीसँग कुरा भए पनि उनको महँगो सरुवा फीका कारण निर्णय हुन नसकेको खुलाए । ‘जतिबेला म त्यहाँ (पदमा) थिएँ, नेइमारको फिर्ती अनुबन्धबारे गम्भीर छलफलहरू भएका थिए । तर, पिएसजीको महँगो फी त्यसबेला मुख्य कठिनाइ थियो,’ अबिडालले भनेका छन्, ‘तर, अब बार्सिलोनामा धेरै कुरा बदलिएका छन् । नयाँ परिस्थितिमा नेइमार अब कहिल्यै पनि बार्सिलोनाको प्राथमिकतामा पर्नेछैनन् । किनभने, त्यहाँ थुप्रै युवा खेलाडी तयार भएका छन् । र, क्लबले अरू युवा खेलाडीमा लगानी गर्नेछ ।’

प्रकाशित मिति ९ चैत्र २०७७, सोमबार २१:४२
Loading...