एभर्टनलाई हराउँदै सिटी एफए कपको सेमिफाइनल प्रवेश

काठमाडौं, चैत ८

इंग्लिस क्लब म्यानचेस्टर सिटी नकआउट कप फुटबल एफए कपको सेमिफाइनल प्रवेश गरेको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा सिटीले प्रिमियर लिग प्रतिस्पर्धी एभर्टनलाई उसकै घरेलु मैदानमा ०–२ ले अन्तरले पराजित गर्दै उपाधितर्फ अघि बढेको हो । गुडिसन पार्कमा भएको खेलमा एभर्टनले खेलमा थुप्रैपटक अवसर बनाए पनि सिटीको रक्षापंक्ति तोड्न नसक्दा उपाधिको बाटो सिटीलाई सुम्पियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिटीले २ वटै गोल खेलको अन्त्यतिर गरेको थियो । पहिलो गोल खेलको ८४औं मिनेटमा इकाए गुन्डोगानले गरेका थिए । त्यसपछि खेलको अन्तिम मिनेट ९०औं मिनेटमा केभिन डे ब्रुयानेले अर्को गोल थपेपछि खेल सिटीले ०–२ ले जित्यो । खेलमा एभर्टनले १० वटा सट प्रहार गरे पनि खेलभरिमा १ गोल पनि निकाल्न नसक्दा उसले आफ्नै घरेलु मैदानमा नतिजा गुमाउन बाध्य भएको हो ।

प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो क्वार्टरफाइनल खेल राति ७ः१५ बजेबाट चेल्सी र सेफिल्ड युनाइटेडबीच सुरु हुनेछ । क्वार्टरफाइनलको अन्तिम खेल आज राति १०ः४५ बजेबाट लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच हुनेछ । यो खेल निक रोमाञ्चक हुनेछ । यी खेल सकिएपछि क्वार्टरका सबै खेल सकिएर सेमिफाइनल समीकरण पनि पूरा हुनेछ ।

प्रकाशित मिति ८ चैत्र २०७७, आईतवार ०७:५१
Loading...