२ गोल गर्दै हल्यान्डले डर्टमुन्डलाई हारको मुखबाट उद्धार गरे : टप–४ धरापमा पर्दै !

काठमाडौं, चैत ७

जर्मन लिग बुन्डेसलिगा फुटबलमा यो सिजन संघर्ष गरिरहेको बोरुसिया डर्टमुन्ड थप कठिनाइमा परेको छ । आज शनिबार राति भएको लिगको २६औं साताको खेलमा डर्टमुन्ड एफसी कोल्नसँग २–२ को बराबरीमा रोकिँदा डर्टमुन्डलाई अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुन पनि कठिन पर्ने भएको छ । लिगको १५औं स्थानको कोल्नको घरेलु मैदानमा डर्टमुन्डका लागि युवा स्टार अर्लिङ हल्यान्डले २ गोल गर्दा टिम बल्ल–बल्ल हारबाट बचेको थियो ।

हल्यान्डले टिमका लागि सुरुआती गोल खेल सुरु भएको तेस्रो मिनेटमै गरेका थिए । उनको गोलमा इम्री च्यानले असिस्ट दिएका थिए । तर, खेलको ३५औं मिनेटमा घरेलु टोली कोल्नका लागि ओन्ड्रेज डुडाले पेनाल्टीमार्फत् गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगियो । त्यसपछि दोस्रो हाफमा कोल्नले पाहुना टोलीविरुद्ध अग्रता बनायो । खेलको ६५औं मिनेटमा इस्माइल जोकोब्सले गोल गरेपछि डर्टमुन्ड खेलमा पछि परेको थियो ।

दोस्रो गोल खाएपछि दबाबमा परेको डर्टमुन्ड हार नजिक पुगेको थियो । तर, खेलको ९०औं मिनेटमा हल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमुन्ड हारको मुखमा पुगेर बच्यो । हल्यान्डको गोलसँगै खेल २–२ को बराबरीमा सकियो । अब यो बराबरीपछि डर्टमुन्ड २६ खेलबाट ४३ अंक बनाएर पाँचौं स्थानमा छ । कुनैबेला उपाधि होडमा रहेको डर्टमुन्ड अहिले ऊ लिग लिडर बार्यन म्युनिखभन्दा १८ अंकले पछि परेको छ । यता, डर्टमुन्डलाई रोक्ने कोल्न भने २३ अंक बनाएर १४औं स्थानमा चढेको छ ।

प्रकाशित मिति ७ चैत्र २०७७, शनिबार २३:१७
Loading...