च्याम्पियन्स लिग क्वार्टरफाइनल ड्र : बार्यन–पिएसजी र लिभरपुल–रियल मड्रिड भिड्ने

काठमाडौं, फागुन ६

जारी सिजन २०२०–२१ अन्र्तत युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा क्वार्टरफाइनल चरणको ड्र घोषणा भएको छ । आज शुक्रबार स्वीट्जरल्यान्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा भएको ड्र अनुसार गत सिजनका फाइनालिस्ट टोलीहरू जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पिएसजी यसपटक क्वार्टरफाइनल चरणमै भिड्ने भएका छन् । गत सिजन फाइनलमा बार्यन र पिएसजी भिडेका थिए, जहाँ पिएसजीलाई हराएर बार्यन च्याम्पियन बनेको थियो । यसपटक सेमिफाइनल प्रवेश गर्न बार्यन र पिएसजीले एकअर्कालाई पन्छाउनुपर्ने भएको छ । यस टाईलाई क्वार्टरफाइनल चरणकै सबैभन्दा खतरनाक टाई मानिएको छ ।

अर्को खेलमा कीर्तिमानी १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियल मड्रिड र अघिल्लो सिजनको च्याम्पियन इंग्लिस क्लब लिभरपुल पनि यसपटक क्वार्टरफाइनलमै भिड्ने भएका छन् । अब प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि यी दुईले एकअर्कालाई पन्छाउनुपर्नेछ । यी दुई टोली अन्तिमपटक सिजन २०१८–१९ को फाइनलमा भिडेका थिए, जहाँ रियलले लिभरपुललाई हराएर च्याम्पियन बनेको थियो । पिएसजी र बार्यनपछि यस टाईलाई क्वार्टरफाइनलको दोस्रो ठूलो भिडन्त मानिएको छ । पछिल्लो समय लिभरपुल खराब स्थितिबाट गुज्रिरहेको छ भने रियल राम्रो लयमा खेरिहेको छ ।

तुलनात्मक रूपमा अन्य हेभिवेट टोलीहरूमध्ये इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज प्रतिस्पर्धी पाएको छ । उसले सेमि प्रवेशका लागि जर्मन क्लब बोरुसिया डर्टमुन्डको सामना गर्नुपर्नेछ । दुवै टोली युवा खेलाडीले भरिभराउ रहेकाले यो खेल पनि रोमाञ्चक हुने पक्का छ । त्यसैगरी, अर्को खेलमा इंग्लिस क्लब चेल्सी र पोर्चुगिज क्लब पोर्टो भिड्नेछन् । क्वार्टरफाइनलमा सबैभन्दा सहज प्रतिस्पर्धी चेल्सीलाई परेको मान्न सकिन्छ । पोर्टोले अन्तिम १६ मा इटालियन युभेन्टसलाई हराएको थियो ।

अबका खेलहरू कहिले–कहिले हुन्छन् ?

क्वार्टरफाइनलको ड्र भइसकेपछि पहिलो लेगका खेल अप्रिल ६ र ७ तारिखमा खेलाउने तालिका छ । त्यसपछि दोस्रो लेगमा खेल भने अप्रिल १३ र १४ तारिखमा हुनेछन् । त्यसपछि सेमिफाइनल अन्तर्गत पहिलो लेगका खेल अप्रिल २७ र २८ तारिखमा हुने तालिका छ । दोस्रो लेगका खेल भने मे ४ र ५ तारिखमा खेलाउने तालिका तय छ । त्यसपछि फाइनल खेल आगामी मे २९ तारिखमा हुनेछ । यसपटक फाइनल खेल टर्कीको इस्तानबुलमा हुनेछ । गत सिजनकै फाइनल खेल सो स्थानमा खेलाउने भनिए पनि कोरोना भाइरसका कारण अन्तिम समयमा स्थान सारेर पोर्चुगलको लिस्वनमा आयोजना गरिएको थियो । तर, यसपटक इस्तानबुलमै हुनेछ ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार १६:४८
Loading...