इतिहासकै महँगा कोउटिन्होलाई कबाडीको भाउमा बेच्दै बार्सा : मूल्य सुन्दा पत्याउन गाह्रो !

एजेन्सी, चैत ५

स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना कीर्तिमानी महँगा खरिद खेलाडी फिलिपे कोउटिन्होलाई बेच्न छलफल थालेको छ । बार्सिलोनाले ब्राजिलियन प्ले मेकरलाई पूर्वक्लब लिभरपुल नै पठाउने तयारी गरेको हो । बार्सिलोनाले उनलाई २०१८ मा लिभरपुलबाट ठूलै कसरतका साथ भित्र्याएको थियो । ब्राजिलियन खेलाडीका लागि बार्सिलोनाले १६० मिलियन युरो खर्च गरेको थियो । स्मरण रहोस्, कोटिन्हो बार्सिलोना इतिहासकै सबैभन्दा महँगा खदि खेलाडी हुन् । बार्सिलोनाले नेइमारलाई २२२ मिलियन युरोमा बेचे पनि खेलाडीका लागि १६० मिलियन युरो त्यसअघि कहिल्यै पनि खर्चेको थिएन ।

तर, क्लब इतिहासकै महँगा खेलाडी बार्सिलोनामा निष्प्रभावी बनेपछि क्लब आगामी समरमा उनलाई जसरी पनि बेच्न चाहन्छ । त्यसका लागि ऊ कोउटिन्होका खरिद मूल्यमा भारी गिरावट गर्न तयार भएको छ । विभिन्न इंग्लिस मिडियाका अनुसार अहिले बार्सिलोनाका नयाँ अध्यक्ष जोन लापोर्टा र लिभरपुलका अधिकारीबीच कोउटिन्हो किनबेचका लागि आन्तरिक छलफल सुरु भएको छ । रिपोर्टअनुसार बार्सिलोनाले आफूले १६० मिलियन युरोमा किनेका खेलाडीलाई ५० मिलियन युरोसम्म आए बेच्न तयार छ । यदि यही मूलयमा बेचे बार्सिलोनालाई कोउटिन्होको अनुबन्धबाट ११० मिलियन सोझै घाटा पर्नेछ ।

पछिल्लो समय लिभरपुलले लगातार कठिनाइ भोग्दै आएकाले क्लब आफ्ना पूर्वस्टार अनुबन्ध गर्न इच्छुक भएको छ । तर, त्यसका लागि उसले आफूले बेचेको मूल्यमा ठूलो कटौती गर्न चाहन्छ । ‘मिरर’मा प्रकाशित रिपोर्टअनुसार लिभरपुल ४५–५० मिलियन युरोसम्ममा कोउटिन्होलाई पुनः इंग्ल्यान्ड फिर्ता गराउन तयार देखिन्छ । त्यसमा यदि कोउटिन्हो फिर्ता भएर उनले ठूला उपाधि जिते बार्सिलोनाले त्यसबापत विशेष बोनस रकम पाउनेछ । क्लबको मिडफिल्डमा समस्या बढ्दै गएपछि प्रशिक्षक जोर्गेन क्लोप आफ्ना पूर्वस्टारलाई एनफिल्ड फर्काउन तयार भएका छन् ।

२०१८ को जनवरी विन्डोमा बार्सिलोनामा अनुबन्ध भएका कोउटिन्होले सबैखाले प्रतियोगिताबाट हालसम्म ९० खेल खेल्दै २४ गोल गरेका छन् । यो उनले सबैखाले प्रतियोगितामा खेलेको खेल हो । उनले पहिलो सिजन (आधा सिजन) मा २२ खेलबाट १० गोल गरेका थिए । त्यसपछि दोस्रो सिजनमा ५४ खेलबाट ११ गोल गर्दा यो सिजन भने १४ खेलबाट मात्रै ३ गोल गरेका छन् । उनी तीन महिनोखि चोटका कारण मैदानबाहिर छन् । उनी यो सिजनको अन्त्यतिर मात्रै मैदान फर्किने सम्भावना रहेको छ । बार्सिलोनामा लगातारको निराशा, आलोचना र खेल्न समय पनि पाउन छाडेपछि कोउटिन्हो पनि बार्सिलोना छाडेर इंग्ल्यान्ड फर्किन तयार भएको चर्चा सरुवा बजारमा छ । अघिल्लो एक सिजन कोउटिन्होले लोनमा बार्यन म्युनिखमा बिताएका थिए । स्पेनमा कोउटिन्हो असफल हुनुको खास कारण धेरैले बार्सिलोनाका पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई कारण मान्ने गर्छन् ।

प्रकाशित मिति ५ चैत्र २०७७, बिहीबार ०८:२२
Loading...