च्याम्पियन्स लिग : क्वार्टरफाइनल प्रवेशका लागि आज रियल र एटलान्टा निर्णायक भिडन्त गर्दै

काठमाडौं, चैत ३

युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत आज दुई निर्णायक खेलहरू हुँदैछन् । आजका दुई खेलबाट अन्तिम आठमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । आज हुने पहिलो खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब एटलान्टाको रोमाञ्चक खेल हुँदैछ । यो खेल रियलको घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । यसअघि एटलान्टाको घरेलु मैदानमा भएको पहिलो लेगको खेल रियलले ०–१ ले जितेको थियो । अवे मैदानमा गोल नखाई खेल जितेको रियल आज दोस्रो लेग घरेलु मैदानमा खेल्दा सहज अवस्थामा हुनेछ ।

आज पाहुना टोलीलाई आफ्नो घरमा स्वागत गर्दा रियलले भ्रमणकारी टोलीलाई ०–० कै बराबरीमा रोके पनि क्वार्टरफाइनल प्रवेश गर्न पर्याप्त हुन्छ । तर, एटलान्टालाई भने आज रियलविरुद्ध कम्तीमा पनि १–२ को नतिजा चाहिन्छ । यसो भए दुवै टोलीकोे समान २–२ गोल भए पनि बढी अवे गोलका आधारमा एटलान्टा रियललाई पछि पार्दै अन्तिम आठमा प्रवेश गर्दा रियल भने आउट हुनेछ । रियलको घरमा आज एटलान्टा जतिसक्दा चाँडो २ गोल गरेर खेललाई समग्रमा बराबरी बनाउने लक्ष्यसाथ खेल्नेछ । किनभने, २ गोलभन्दा बढी गोल गरेर खेल समग्रमा बराबरी गरे उसका लागि त्यो नतिजा काफी हुन्छ । एटालन्टाले २ गोल गरेको खण्डमा रियलले भने स्पष्ट अन्तरमै नतिजा निकाल्नुपर्छ ।

पछिल्लो समय युरोपमा एक आक्रामक टोलीका रूपमा उदाएको एटलान्टालाई रोक्न आज रियललाई चुनौतीपूर्ण हुनेछ । तर, रियलको रक्षापंक्तिमा अहिले कप्तान सर्जियो रामोस, फोर्लान मेन्डी, राफाएल भारानेजस्ता अनुभवी खेलाडी ठीकठाक रहेकाले घरेलु टोलीलाई रक्षपंक्तिमा ठूलो डर भने छैन । विकल्पमा नाचो, मार्सेलो र इडर मिलिटाओ पनि उपलब्ध छन् । रामोससहितको रियलको रक्षापंक्ति अक्सर मजबुत साबित हुँदै आएको छ । अघिलो लेगमा टिमका लागि विजयी गोल गरेका मेन्डी पनि अहिले राम्रो अवस्थामा छन् । मिडफिल्डमा टोनी क्रुस, लुका मोड्रिच, फेडे भाल्भर्डे र इस्को हुँदा आज कासेमिरो भने टोलीमै छैनन् । फ्रन्ट लाइनमा करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसियस जुनियर, रोड्रिगोसहितका खेलाडी आज उपलब्ध हुनेछन् ।

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार १०:४०
Loading...