मेस्सी रियल मड्रिड आए उनलाई मेरो घरमा राख्छु : रामोस

एजेन्सी, फागुन २९

स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा प्रमुख डिफेन्डर सर्जियो रामोसले आफ्नो खास प्रतिस्पर्धी क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख फरवार्ड लिओनल मेस्सी रियल मड्रिडमा अनुबन्ध भए आफ्नो घरमा राख्ने बताएका छन् । हालसालै एक ताजा अन्तर्वार्तामा कुरा गर्दै स्पेनिस खेलाडीले मेस्सी रियल सर्न सक्ने विषयमा सोधिएको प्रश्नमा रमाइलो जवाफ दिँदै यस्तो बताएका हुन् । बार्सिलोनामा यो सिजनको अन्त्यसँगै मेस्सीको समझौता सकिँदैछ । र, उनी बार्सिलोना छाडेर अन्यत्र जाने तयारीमा रहेका छन् । मेस्सीमाथि इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजीले विशेष रूपमा चासो देखाउँदै आएका छन् ।

सन् २००४ देखि लगातार १७ वर्षसम्म बार्सिलोनामा खेल्दै आएका अर्जेन्टिनी खेलाडी मेस्सीले रियलका लागि खेल्ने कुरा त धेरैले कुनै दिन कल्पना पनि गरेनन् होला, न त आज नै गर्छन् । किनभने, १३ वर्षको उमेरदेखि बार्सिलोनामा रहेर हुर्किएका मेस्सीले बार्सिलोनाको कट्टर प्रतिस्पर्धी रियलका लागि खेल्ने कुरा सोच्न र आशा गर्न सकिन्छ तर त्यो व्यवहारमा भने करिब–करिब असम्भव नै हो । तर, अन्तर्वार्तामा रामोसलाई मेस्सीले बार्सिलोना छाडेर रियल सर्ने विषयमा प्रश्न सोधेपछि रामोसले पनि रमाइलो पारामा जवाफ दिए । मेस्सीले विगतमा रियलका लागि खेलेको भए वा अहिले पनि खेले आफूले मेस्सीको स्वागत गर्ने रामोसको भनाइ रहेको छ । यतिसमम कि, रामोसले त मेस्सी बार्सिलोना छाडेर रियलमा अनुबन्ध भए आफ्नै घरमा राखेर स्वागत गर्ने पनि बताएका छन् ।

‘के विगतमा कुनै दिन मेस्सीले रियलका लागि खेल्न सक्थे ? वा, अब सक्छन् ? मलाई त त्यस्तो लाग्दैन । यदि यो सम्भव छ भनेर कल्पना गर्नुपर्छ भने म उनलाई आत्मीय स्वागत गर्थें होला वा गर्नेछु,’ रमाइलो पारामा रामोसले भनेका छन्, ‘(हाँस्दै) यदि उनी बार्सिलोना छाडेर रियल मड्रिड आउँछन् भने म उनलाई मेरै घरमा राख्नेछु । तर, यो एक कल्पनाभन्दा अरू कुरा हुन सक्दैन । जसरी म बार्सिलोनाका लागि होइन, मेस्सी पनि रियल मड्रिडका लागि होइनन् । उनी जन्मेकै बार्सिलोनाका लागि हुन् ।’

मेस्सीले बार्सिलोना छाडेर अन्यत्र जाने चर्चा बढेको विषयमा रामोसले धेरै बताउन चाहेनन् । बरु, आफूले त मेस्सीले सधैं बार्सिलोनाका लागि खेलून् भन्ने चाहेको बताए । ‘उनको भविष्यबारे मैले बोल्नु आवश्यक छैन । व्यक्तिगत रूपमा मेरो चाहना उनले सधैंभरि बार्सिलोनाका लागि खेलून् भन्ने हो । म त करिअरको अन्तिम दिनसम्म एल क्लासिकोमा मेस्सीसहितको बार्सिलोनाविरुद्ध खेल्न चाहन्छु । तर, यदि मेस्सी ला लिगा छाडेर अन्त कतै जाँदैछन् भने म उनलाई गुड लक भनेर अवश्य पनि बिदा गर्नेछु,’ रामोसले भने ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार १९:४२
Loading...