च्याम्पियन्स लिग जिताउन नसकेपछि युभेन्टसले रोनाल्डोलाई २९ मिलियनमै बेच्ने !

एजेन्सी, फागुन २९

इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै आउट भएपछि टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्भावित सरुवा विषयसँग जोडिएर विभिन्नखाले चर्चा सुरु भएका छन् । रोनाल्डोसहितको युभेन्टस लगातार तेस्रो सिजन पनि क्वार्टरफाइनलभन्दा अघि बढ्न नसकेपछि युभेन्टसले रोनाल्डो अनुबन्ध गर्नुको औचित्य समाप्त भएको भन्दै कतिपयले अब युभेन्टसले रोनाल्डो बेच्नुपर्ने र नयाँ ढंगले टोली बनाउनुपर्ने धारणा राखिरहेका छन् । यतिसम्म कि, विश्वका कतिपय चर्चित खेल मिडियाले त रोनाल्डोलाई युभेन्टसले बेच्नका लागि बजार मूल्य नै तोकेको समेत रिपोर्ट छापेका छन् ।

सरुवा बजारका चर्चाहरू अनुसार रोनाल्डो अब पूर्वक्लब स्पेनिस रियल मड्रिड फर्किन चाहन्छन् । यदि रोनाल्डो इटाली छाड्न तयार भए उनलाई युभेन्टसले कम मूल्यमै बिदा गर्न सक्छ । स्पेनिस मिडियाले यस्तो रिपोर्ट छापेका छन् कि, युभेन्टस रोनाल्डोलाई मात्रै २९ मिलियन युरोमा बेच्न तयार भएको छ । यदि कुनै क्लबबाट २९ मिलियन युरोसम्मको अफर आयो र रोनाल्डोले चाहे पाँचपटकका च्याम्पियन्स लिग विजेता रोनाल्डोको सरुवा आगामी समरमै सम्भव भएको चर्चा अहिले तातो छ । युभेन्टसले रोनाल्डोलाई सन् २०१८ मा रियलबाट ११६ मिलियन युरोमा अनुबन्ध गरेको थियो । युभेन्टसले च्याम्पियन्स लिग जित्न सकिने लक्ष्यसाथ रोनाल्डोलाई भित्र्याए पनि त्यसअनुसार प्रगति हुन नसक्दा युभेन्टस र रोनाल्डो दुवै निराश छन् ।

मोटो बजेटमा ३३ वर्षका रोनाल्डोलाई भित्र्याएको युभेन्टसले उनका लागि प्रतिसिजन ३२ मिलियन युरो तलबबापत दिँदै आएको छ । च्याम्पियन्स लिग पनि जित्न नसक्ने अनि उनका लागि तलबमा ठूलो बजेट जाने हुँदा यो बोझबाट पन्छिन पनि युभेन्टसले आगामी समरमा पोर्चुगिज खेलाडीलाई बेच्न सक्ने सम्भावना बढेको चर्चा छ । तर, आजसम्म युभेन्टसका अधिकारीले यसबारे केही बोलेका छैनन्, न त युभेन्टसका प्रशिक्षक वा रोनाल्डोका एजेन्टले नै कुनै धारणा राखेका छन् । युभेन्टसले रोनाल्डोका लागि तोकेको २९ मिलियनको बजार भाउ केवल सरुवा बजारका चर्चा मात्रै रहेको देखिन्छ ।

केही समयअघि मात्रै ३६औं जन्मदिन मनाएका रोनाल्डोले युभेन्टसमा तेस्रो सिजन बिताउँदै गर्दा १२१ खेलबाट ९२ गोल गरेका छन् भने ३२ गोलमा असिस्ट गरेका छन् । जारी सिजन मात्रै उनले सबैखाले प्रतियोगितामा २७ गोल गरिसकेका छन् । सिरी ए लिगमा उनी अझै पनि २० गोलसहित एकल सर्वाधिक गोलकर्ता छन् । युभेन्टस घरेलु लिगको उपाधि होडमा अहिले कमजोर स्थितिमा छ । तर, आगामी खेलबाट युभेन्टसले यसमा सुधार गर्ने सम्भावना अझै पनि छ ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार १८:५०
Loading...