ला लिगामा आज रियल मड्रिड र एथ्लेटिको मड्रिडको खेल हुँदै

काठमाडौं, फागुन २९

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज विभिन्न चार खेलहरू हुँदैछन्, जसमा आज लिग लिडर एथ्लेटिको मड्रिड र तेस्रो स्थानको रियल मड्रिडले पनि आ–आफ्नो खेल खेल्दैछन् । आजको खेल रियल र एथ्लेटिको दुवैका लागि २७औं चरणका खेल हुन् । उपाधि होडमा रहेका दुवै टिमले आज एकैदिन आ–आफ्नो खेल खेल्ने हुँदा यी दुवैको हार–जित महत्त्वपूर्ण हुनेछ । हाल अंक तालिकामा एथ्लेटिको ६२ सहित शीर्ष स्थानमा छ भने रियल ५४ अंकसहित तेस्रो स्थानमा छ । ५६ अंक भएको बार्सिलोना भने दोस्रो स्थानमा छ । यी ३ वटै टिमले समान २६–२६ खेल खेलेका छन् ।

आजको पहिलो खेलमा साँझ ५ः४५ बजेबाट अलाभेस र क्याडिज खेल्दा दोस्रो खेलमा राति ठीक ९ बजेबाट रियल मड्रिड र इल्चेको खेल हुँदैछ । यो खेल रियलको घरेलु मैदानमा हुनेछ । आजको तेस्रो खेलमा ओसासुना र भाल्लाडोलिडबीच हुनेछ । यो खेल राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ । आजको अन्तिम खेलमा गेटाफे र एथ्लेटिको मड्रिड आमनेसामने हुँदैछन् । यो खेल राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । लिगमा अब अन्तिम १२ खेल मात्रै बाँकी रहेको अवस्थामा एथ्लेटिको खेल जितेर उपाधि होडमा लिड कायमै राख्न चाहन्छ भने रियल पनि दबाब बढाउन हरेक खेलमा जितको खोजीमा हुनेछ ।

रियल आज लिगको १७औं स्थानको टिमसँग आफ्नो घरेलु मैदानमा उत्रिँदा सबेजसो प्रमुख खेलाडी उपलब्ध छन् । कप्तान सर्जियो रामोस लामो समयपछि यसै खेलबाट मैदान फर्किंदैछन् भने अर्का प्रमुख खेलाडी इडेन हाजार्ड पनि लामो समयपछि चोटमुक्त हुँदै आजकै खेलबाट टोलीमा कमब्याक गर्दैछन् । फेडे भाल्भर्डे, करिम बेन्जेमा सहितका प्रमुख खेलाडी यसअघि नै चोटमुक्त हुँदै मैदान फर्किएका छन् । रामोस, हाजार्ड, भाल्भर्डे र बेन्जेमाको कमब्याक रियलका लागि ठूलो राहत बनेको छ । रियलले आजको खेलपछि च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगको निर्णायक खेल इटालियन एटलान्टासँग खेल्ने हुँदा उसका लागि आजको खेल धेरै नै महत्त्वपूर्ण हुनेछ ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार ०८:३२
Loading...