फुटबलको एउटा महान् युग अन्त्य हुनेक्रममा : १६ वर्षपछि फरक कहानी ……..

काठमाडौं, फागुन २७

युरोपियन च्याम्पियन्स लिग फुटबलको यस सिजनको क्वार्टरफाइनल यस प्रतियोगिताका दुई ठूला हस्ती क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबिनै हुने भएको छ । सिजन २००४–०५ पछि पहिलोपटक यी दुई खेलाडीको टिम एकै सिजनमा च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्न असफल भएका हुन् । गत राति मेस्सीको टिम बार्सिलोना फ्रेन्च क्लब पिएसजीसँग समग्रमा ५–२ को हार भोग्दै अन्तिम १६ बाटै आउट भयो । त्यसको एक दिनअघि रोनाल्डोको टिम युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग एग्रीगेटमा पछि रहेर आउट भयो । दुई दिनको बीचमा रोनाल्डो र मेस्सी दुवैको टिम आउट भए ।

रोनाल्डो र मेस्सीमध्ये कोही न कोही यसअघि क्वार्टरफाइनलसम्म पुग्दै आएका थिए । तर, यसपटक दुवै खेलाडीको टिमको यात्रा अन्तिम १६ मै सकियो । सिजन २००४–०५ मा बार्सिलोनालाई इंग्लिस क्लब चेल्सीले अन्तिम १६ बाटै आउट गराएको थियो । त्यसबेला भने रोनाल्डो म्यानचेस्टर युनाइटेडमा थिए । सोही सिजन रोनाल्डोको टिम युनाइटेडलाई इटालियन एसी मिलानले अन्तिम १६ मै हराएको थियो । सो सिजनपछि रोनाल्डो र मेस्सीले आ–आफ्नो टिमलाई कम्तीमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म लैजान सहयोग गरेका थिए । तर, यसपटक कहानी बदलियो ।

१७ वर्षे लामो करिअरमा रोनाल्डोले यो प्रतियोगिता कूल पाँचपटक जितेका छन् भने मेस्सीले चारपटक मात्रै । रोनाल्डोले युनाइटेड र रियल मड्रिडबाट च्याम्पियन्स लिग पाँचपटक जित्दा मेस्सीले सबै बार्सिलोनाबाट मात्रै जितेका हुन् । रोनाल्डोले यो प्रतियोगिता सन् २०१८ मा रियलमा छँदै जितका थिए भने मेस्सीले सिजन २०१५ मा जितेका थिए । रोनाल्डोले यो प्रतियोगिता लगातार तीनपटक जितेर ह्याट्रिक नै गरेका छन् भने मेस्सीले कहिल्यै पनि लगातार दुईपटक पनि जितेका छैनन् । आफ्नो खेल करिअरको अन्त्यतिर पुग्दै गर्दा रोनाल्डो अहिले ३६ वर्षका भए भने मेस्सी ३४ वर्षका ।

मेस्सीले २०१५ बाट एकपटक पनि यो प्रतियोगिता जित्न नसक्नु र रोनाल्डोले २०१८ देखि यता अन्तिम आठमभन्दा अघि बढ्न नसक्नुले अब यी दुई खेलाडीको समय सकिँदै गएको अर्थमा धेरैले बुझ्न थालेका छन् । ठूला प्रतियोगितामा लगातारको कमजोर प्रदर्शन र असफलतासँगै रोनाल्डो र मेस्सीले अब यो प्रतियोगिता पुनः जित्ने सम्भावना नरहेको विश्लेषण हुन थालेको छ । रोनाल्डो र मेस्सी दुवै यो सिजन दुई दिनको बीचामा अन्तिम १६ बाटै आउट भएपछि उनीहरू दुवैको भविष्य हालको क्लबमा अनिश्चित पनि बनेको छ । मेस्सी त त्यसै पनि क्लब छाड्ने तयारीमा छन् भने रोनाल्डोको भविष्य पनि यो असफलताले झनै अनिश्चित बनाएको छ ।

प्रकाशित मिति २७ फाल्गुन २०७७, बिहीबार २०:३७
Loading...