बार्सिलोनालाई फाइदा उठाउने मौका : पिएसजीका ३ प्रमुख खेलाडीले दोस्रो लेग गुमाउने

एजेन्सी, फागुन २५

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा दुई दिनपछि फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब बार्सिलोना निर्णायक खेल खेल्दैछन् । सो खेल पिएसजीको घरेलु मैदानमा हुनेछ । सो खेलमा पिएसजीका ३ जना प्रमुख खेलाडी नखेल्ने भएका छन् । आज क्लब पिएसजीले अफिसियल प्रेस नोट जारी गर्दै आफ्ना ३ जना प्रमुख खेलाडी बार्सिलोनाविरुद्धको खेलमा उपलब्ध नहुने पुष्टि गरेको छ । बार्सिलोनाविरुद्ध खेल्ने अपेक्षा गएिका प्रमुख खेलाडी नेइमारले पूर्वक्लब विरुद्धको खेल गुमाउने पक्का भएको छ । नेइमार लामो समयदेखि घाइते अवस्थामा छन् । यस खेलका लागि उनी चोटमुक्त हुँदै मैदान फर्किने अपेक्षा गरिए पनि उनले पूर्वक्लब विरुद्धको बहुप्रतीक्षित खेल मिस गर्ने भएका हुन् ।

त्यसैगरी, लेफ्ट ब्याक जाउन बर्नाट भेलास्को पनि बार्सिलोनाविरुद्ध नखेल्ने भएका छन् । त्यसैगरी, युवा फरवार्ड मोइसे किनले पनि यो खेल गुमाउने पक्का भएको छ । पिएसजीका अनुसार नेइमार र बर्नान्ड चोटका कारण रिकभरी प्रक्रियामै छन् भने इटालियन युवा खेलाडी किन कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । नेइमार र बर्नाट दुवै रिकभरी प्रक्रियामा रहेको र एकल प्रशिक्षणमा फर्किसकेको पिएसजीले जनाएको छ । उनीहरू आगामी खेलबाट मैदान फर्किन सक्ने सम्भावना छ । तर, किनलाई भने दुई साता कम्तीमा लाग्नेछ । बार्सिलोनाविरुद्ध नेइमार उपलब्ध नहुने भएपछि दोस्रो लेगको खेल केही खेल्लो हुने भएको छ ।

यसअघि बार्सिलोनाको मैदानमा भएको पहिलो लेगको खेल पिएसजीले १–४ को शानदार नतिजा निकालेको थियो । सो खेलमा फ्रेन्च स्टार केलियन एमबाप्पले शानदार ह्याट्रिक गरेका थिए । अब पिएसजीको मैदानमा दोस्रो लेग खेल्न जाँदा बार्सिलोनालाई पहिलो लेगको नतिजा उल्ट्याउन १ गोल पनि नखाई कम्तीमा ०–४ को नतिजा आवश्यक पर्छ । यता, पिएसजी भने दोस्रो लेगमा ०–३ ले हार्दासम्म पनि केही फरक पर्दैन । यदि पिएसजी ०–३ ले हारे पनि खेल समग्रमा ४–४ को बराबरी हुने हुँदा बढी अवे गोलका आधारमा पिएसजी अघि रहेर अन्तिम आठमा जाँदा बार्सिलोना भने आउट हुनेछ । सन् २०१७ मा बार्सिलोना अन्तिम १६ कै पहिलो लेगमा पिएसजीको घरमा ०–४ ले हारेको थियो । तर, आफ्नो घरमा भएको दोस्रो लेगमा बार्सिलोनाले ६–१ को ऐतिहासिक कमब्याक जित निकालेको थियो । बार्सिलोना यसपटक पनि त्यस्तै नाटकीय कमब्याक जितेको प्रतीक्षामा छ । यो उसका लागि भाग्यभरोसा मात्रै हो ।

यता, बार्सिलोनाविरुद्ध दोस्रो लेगमा नेइमार नहुने भए पनि केलियन एमबाप्पे भने ठीकठाक उपलब्ध हुनेछन् । त्यसो त नेइमार यसअघि पहिलो लेगमा पनि थिएनन् । तैपनि, पिएसजीले क्याम्प नोउमा बार्सिलोनाको राम्रैसँग धुलाइ गरेको थियो । यसपटक पनि नेइमार नहुँदा खासै फरक नपर्ला । नेइमार हुँदाको खेल प्रतिष्ठाको खेल हुने भए पनि यसको रौनकता कम हुनेछ । नेइमार नभए पनि एमबाप्पेसहित माउरो इकार्डी, एन्जल डि मारिया भने बार्सिलोनाविरुद्ध ठीकठाक उत्रिनेछन् । पिएसजी यही टोलीमा साथ बार्सिलानाविरुद्ध अर्को अप्रत्यासित जित निकाल्ने दाउमा रहेको छ ।

प्रकाशित मिति २५ फाल्गुन २०७७, मंगलवार १८:१४
Loading...